08/07/2026, 09:12:38
शुक्रबार, साउन २२, २०८३

विदेश जाने कागजात प्रमाणीकरण अब अनलाइनबाटै: भदौ १ गतेदेखि ‘नेपाल ई-एटेस्टेसन प्रणाली’ पूर्ण रूपमा सञ्चालनमा आउने


काठमाडौँ, साउन २२ गते । काठमाडौँस्थित कन्सुलर सेवा विभागले विदेश जाने नेपाली नागरिकका लागि कागजात प्रमाणीकरण प्रक्रियालाई पूर्ण रूपमा अनलाइन बनाउने भएको छ।

परराष्ट्र मन्त्रालयले ‘नेपाल ई–एटेस्टेसन सिस्टम‘ (विद्युतीय प्रमाणीकरण प्रणाली) सञ्चालनमा ल्याएसँगै आगामी भदौ १ गतेदेखि आम-नागरिकले घरमै बसेर कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन, राजस्व तिर्न, आवेदनको अवस्था हेर्न र समय तोक्न सक्नेछन्।

यसअघि दूर-दराजका जिल्लाबाट प्रमाणीकरणका लागि काठमाडौँ आउनुपर्ने र कागजातमा सामान्य त्रुटि हुँदा पुनः फर्कनुपर्ने खर्चिलो तथा सास्तीपूर्ण बाध्यता रहेको थियो। अब आवेदन स्वीकृत भएपछि मात्र विभागमा उपस्थित हुनुपर्ने भएकाले सेवाग्राहीको समय र पैसाको बचत हुनेछ। भविष्यमा हुलाक सेवा विभागको सहयोगमा प्रमाणीकरण गरिएका कागजात घरमै पुर्‍याउने योजनासमेत मन्त्रालयको रहेको छ।

वैदेशिक अध्ययनका लागि जाने १ लाख १२ हजारभन्दा बढी विद्यार्थी र वार्षिक करिब ४ लाख वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ध्यानमा राख्दै यो प्रविधि कार्यान्वयनमा ल्याइएको हो। सरकारको ‘डिजिटल नेपाल’ र सुशासनको लक्ष्य अनुरूप सुरु गरिएको यो प्रणालीले कागजात प्रमाणीकरण प्रक्रियालाई पारदर्शी, छिटो र अनुमानयोग्य बनाउनुका साथै पारिवारिक पुनर्मिलन, उद्धार र बिमा दाबी जस्ता काममा ठूलो सहयोग पुर्‍याउनेछ।