07/23/2026, 21:45:52
बिहिबार, साउन ०७, २०८३

नेपालकै जेठो जिम ‘नेपाल व्यायाम मन्दिर’ नयाँ स्वरूपमा


काठमाडौँ, साउन ७ गते । नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुन: सञ्चालनमा आएको छ ।

वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आएर स्थापित यस व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै नयाँ स्वरुपमा बनाएर सञ्चालन गरिएको हो ।

चीनको ’फिटनेस च्वाइस’ नामक संस्था मार्फत एक करोडभन्दा बढी मूल्यका आधुनिक व्यायाम मेसिन तथा उपकरणहरू ल्याएर जिममा जडान गरिएको छ ।

नयाँ स्वरूपमा महिला र पुरुषका लागि छुट्टाछुट्टै स्टिम, साउना बाथ र कार्डियो स्टेसनका साथै दुवैका लागि छुट्टाछुट्टै शौचालयको समेत निर्माण गरिएको छ । नयाँ थपिएका यी उपकरणहरूको सहायताले अब जिममा एकै सिफ्टमा ८० देखि १०० जनासम्मले सहज रूपमा व्यायाम गर्न सक्ने क्षमता पुगेको बताइएको छ ।

व्यायाम मन्दिरमा नियमित जिमका अतिरिक्त जुम्बा, विशेष योग कक्षाहरू र किकबक्सिङ प्रशिक्षण लगायत खेलकुदका अन्य विविध गतिविधिहरु समेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ । व्यायाम मन्दिरको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार उद्घाटन गर्नुभयो ।

नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार यो एउटा जनस्तरीय तथा जनताको व्यायामशाला भएकाले सेवाग्राहीका लागि लिइने सेवा शुल्क तुलनात्मक रुपमा सस्तो र सुलभ राखिएको छ ।