

काठमाडौँ, साउन ४ गते । स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालयले विषालु जङ्गली च्याउ नखान आग्रह गरेको छ ।
वर्षायाम सुरु भएसँगै जङ्गलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जङ्गली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो ।
मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा.राधिका थपालियाले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा वर्षाको मौसममा जङ्गली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खानयोग्य नहुने उल्लेख गरिएको छ। विषालु च्याउको सेवनले बान्ता, पखाला, पेट दुख्ने, कलेजो तथा मिर्गौलामा गम्भीर असर पर्ने र ज्यानसमेत जान सक्ने जोखिम रहने उहाँको भनाइ छ।
उहाँका अनुसार पकाउँदा पनि विषालु च्याउमा रहेको विष पूर्ण रूपमा नष्ट नहुने भएकाले जङ्गलमा उम्रिएका च्याउ कहिल्यै पनि नखान आग्रह गरिएको छ। विषालु र खानयोग्य च्याउ छुट्याउन सामान्य व्यक्तिका लागि कठिन हुने भएकाले जङ्गली च्याउको सेवन नगर्न मन्त्रालयले विशेष अनुरोध गरेको छ।
मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























