काठमाडौँ, असार २८ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सञ्चालनमा ल्याउने गरी अन्तिम तयारी भइरहेको छ । मुलुककै पहिलो अत्याधुनिक र सडक यातायातको पूर्वाधारमा ऐतिहासिक फड्को मानिएको यस सुरुङमार्गको भौतिक निर्माण, परीक्षण र सञ्चालन गर्ने कम्पनी छनोटको काम पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
राष्ट्रिय योजना आयोगका सदस्य ई. अर्जुनजङ्ग थापाका अनुसार यस परियोजना मार्फत नेपालको इन्जिनियरिङ क्षेत्रमा आधुनिक भेन्टिलेसन, सिसिटिभी, आपत्कालीन सुरुङ, डिजिटल प्रविधि र देशकै पहिलो फ्लाइओभर जस्ता अन्तर्राष्ट्रिय मापदण्डका प्रविधिहरू हस्तान्तरण भएका छन् ।
यी सवारीलाई सुरुङभित्र प्रवेश निषेध
आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङ सञ्चालनका लागि सुरक्षा मापदण्डहरू लागु भइसकेका छन् । सुरक्षाका कारण साइकल, मोटरसाइकल, तीनपाङ्ग्रे सवारी र पेट्रोलियम पदार्थ जस्ता प्रज्ज्वलनशील वस्तु बोकेका सवारीसाधनलाई सुरुङभित्र प्रवेश निषेध गरिएको छ । सुरुङमार्ग सञ्चालन, रेखदेख र सुरक्षाका लागि प्रशासनिक तथा प्राविधिक गरी कुल १५० जना जनशक्ति खटिने छन् ।
देशकै पहिलो स्वचालित शुल्क सङ्कलन (टोल प्लाजा)
सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनबाट शुल्क उठाउन काठमाडौँतर्फ तीन र धादिङतर्फ दुई वटा टोल प्लाजा निर्माण भइसकेका छन् । नेपालमै पहिलो पटक स्वचालित रूपमा शुल्क सङ्कलन गर्नका लागि अहिले सफ्टवेयर जडान र बैङ्कहरूसँग आबद्ध गर्ने कार्य भइरहेको छ । सुरुङमार्ग सञ्चालन र रेखदेखको जिम्मेवारी नेपाली कम्पनी एआरटी र चिनियाँ कम्पनी युसिनले संयुक्त रूपमा ५ वर्षका लागि पाएका छन् ।
२५ अर्बको लागतमा आयोजना हस्तान्तरण
निर्माण ठेक्का पाएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसन ले सुरुङमार्ग आयोजनालाई हस्तान्तरण गरिसकेको छ । सम्झौता गरिएको ४२ महिनाको तुलनामा निर्माण सम्पन्न हुन ७९ महिना लागेको यस आयोजनामा कुल २५ अर्ब रुपियाँ खर्च भएको आयोजना उपनिर्देशक सञ्जय पन्थीले जानकारी दिनुभयो । जसमा १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋण र जग्गा मुआब्जाबापतको ६ अर्ब रुपियाँ नेपाल सरकारको रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























