07/08/2026, 21:50:10
बुधबार, असार २४, २०८३

शैक्षिक परामर्श र भाषा शिक्षण संस्थाका लागि नयाँ नियमावली स्वीकृत, २५ लाख धरौटी राख्नुपर्ने (


काठमाडौँ, असार २४ गते । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३‘ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्बाट हालै स्वीकृत यस नियमावलीले अनुमतिपत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवाको गुणस्तरसँग सम्बन्धित नयाँ र कडा व्यवस्थाहरू लागू गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीको हित संरक्षण र शैक्षिक परामर्श संस्थाको प्रभावकारी नियमन गर्ने उद्देश्यले ल्याएको नयाँ नियमावलीका मुख्य व्यवस्थाहरू यस प्रकार छन्:

blog

१. अनुमतिपत्र, धरौटी र भौतिक पूर्वाधार

  • २५ लाख धरौटी: शैक्षिक परामर्श सेवा सञ्चालनका लागि अब २५ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ।
  • अनुमति दस्तुर र नवीकरण: अनुमतिपत्रका लागि ५० हजार रुपैयाँ दस्तुर तोकिएको छ। अनुमतिपत्रको अवधि १ वर्षको हुने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्नेछ। मन्त्रालयको अनुमति बिना सेवा सञ्चालन गर्न पाइने छैन।
  • परामर्शदाताको योग्यता: संस्थाले कम्तीमा स्नातक (Bachelor’s Degree) उत्तीर्ण गरी सम्बन्धित तालिम लिएका परामर्शदाता मात्र नियुक्त गर्नुपर्नेछ।
  • कार्यालय: संस्थाको आफ्नै भवन वा कम्तीमा ३ वर्षको भाडा सम्झौता भएको कार्यालय हुनुपर्नेछ।
  • नियमन अधिकार: भाषा शिक्षण र तयारी कक्षाको हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने व्यवस्था गरिएको छ।

२. आर्थिक कारोबार र डिजिटल प्रणाली

  • नगद कारोबार निषेध: विद्यार्थीसँग हुने आर्थिक कारोबारलाई पूर्ण रूपमा डिजिटल बनाइएको छ। सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइनेछ।
  • अनिवार्य बिल र विवरण: संस्थाले शुल्कको बिल वा भर्पाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ र सेवा शुल्कको विवरण आफ्नै वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।
  • शुल्क भुक्तानी: विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ (NOC) प्राप्त गरेपछि मात्र बैंकमार्फत शैक्षिक शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

३. विद्यार्थीको हित, क्षतिपूर्ति र जिम्मेवारी

  • अलपत्र परे क्षतिपूर्ति: परामर्श लिएका विद्यार्थी विदेशमा अलपत्र परेमा वा सम्बन्धित शिक्षण संस्था अवैध ठहरिएमा परामर्शदाता संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ।
  • जोखिमयुक्त संस्थामा रोक: जोखिमयुक्त विदेशी विश्वविद्यालय पहिचान गरी त्यस्ता संस्थामा विद्यार्थी पठाउन रोक लगाउने अधिकार मन्त्रालयलाई दिइएको छ।

४. लगानी र शैक्षिक मेला सम्बन्धी व्यवस्था

  • स्वदेशी लगानी मात्र: नियमावलीले शैक्षिक परामर्श संस्थामा स्वदेशी लगानी मात्र रहने व्यवस्था गरेको छ। विदेशी लगानी भएका संस्थाले १ वर्षभित्र स्वदेशी लगानीमा नामसारी गरिसक्नुपर्नेछ।
  • शैक्षिक मेलामा रोक: विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न रोक लगाइएको छ। अन्य शैक्षिक मेलाका लागि मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ।

५. वर्गीकरण र कारबाहीको दायरा

  • संस्थाको वर्गीकरण: मन्त्रालयले संस्थाको सेवा गुणस्तर, कार्यसम्पादन र विद्यार्थीको सफलताका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गर्नेछ।
  • अनुमतिपत्र रद्द र धरौटी जफत: अनुमतिपत्र नवीकरण नगर्ने, विद्यार्थीमाथि आर्थिक शोषण वा ठगी गर्ने, भ्रामक सूचना दिने वा कर नतिर्ने संस्थाको अनुमतिपत्र रद्द गरी धरौटी जफत गरिनेछ।