06/18/2026, 16:15:01
बिहिबार, असार ०४, २०८३

उद्धार नै पहिलो प्राथमिकता : मनसुन विपद्का लागि सरकार पूर्ण तयारीमा, गृहमन्त्री गुरुङ


काठमाडौँ, असार ४ – मनसुन सक्रिय हुनुभन्दा अघि नै सरकारले विपद् व्यवस्थापनको ‘पाङ्ग्रा’ घुमाइसकेको छ। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वतयारी बैठकमा सहभागी भएपछि पत्रकारहरूसँगको कुराकानीमा सरकारको रणनीति स्पष्ट पार्नुभयो।
उहाँले आगामी दिनहरूमा आउन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपका घटनामा कुनै पनि नागरिकले उद्धारको अभाव खेप्नु नपरोस् भन्नका लागि सरकारले हेलिकप्टर, सुरक्षाकर्मी र अन्य सम्पूर्ण स्रोतसाधन अत्याधुनिक ढङ्गले परिचालन गर्ने बताउनुभयो।
उहाँको भनाइमा, “औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्नेछौँ,” साथै सङ्कटको बेला ढिलाइ नगरी काम गर्न सबै संयन्त्र तयार अवस्थामा राखिएको उहाँको भनाइ थियो। यसका साथै, उहाँले अघिल्लो सरकारले गरेका सकारात्मक पक्षलाई आत्मसात गर्दै कमजोरीहरूको पहिचान र सुधारमा जोड दिने नीति समेत स्पष्ट पार्नुभयो।