06/04/2026, 21:24:28
बिहिबार, जेठ २१, २०८३

“छाती दुख्ने, सास फोर्न गाह्रो हुने लक्षणलाई बेवास्ता गर्नु हुँदैन”

हृदयघात हुँदा छातीमा दुखाई महसुस हुने र दुखाई सर्दै विशेष गरी बायाँ हात तिर जाने, दुखाई कसैले थिचेको जस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने, चिसो पसिना आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु, चक्कर लाग्नु यसका प्रमुख लक्षण हुन् ।


काठमाडौँ, जेठ २१ गते । पछिल्लो समय हृदयघात (हार्ट अट्याक)का घटना बढ्दै गएका छन् । हृदयघात जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिँदै गएमा विश्वभर नै चिन्ताको विषय बनेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईका अनुसार विश्वमा मृत्यु हुने प्रमुख कारण हृदयघात हो ।

हृदयघात भनेको मुटुको कुनै भागमा रगत पुर्‍याउने धमनी अचानक बन्द हुँदा मुटुको मांसपेशीले पर्याप्त अक्सिजन नपाउने अवस्था भएको डा. भट्टराईको भनाइ छ । उहाँका अनुसार यो एक आपतकालीन चिकित्सा अवस्था हो। विशेषगरी अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, धूम्रपान, मदिरा सेवन, तनाव तथा मधुमेह र उच्च रक्तचापजस्ता समस्याका कारण हृदयघातको जोखिम बढिरहेको डा.भट्टराई बताउनुहुन्छ ।

हृदयघात हुँदा छातीमा दुखाई महसुस हुने र दुखाई सर्दै विशेष गरी बायाँ हात तिर जाने, दुखाई कसैले थिचेको जस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने, चिसो पसिना आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु, चक्कर लाग्नु यसका प्रमुख लक्षण हुन् ।

सुगर र उच्च रक्तचाप, कोलस्ट्रोल हृदयघातका प्रारम्भिक लक्षण भएको उहाँको भनाइ छ । उहाँका अनुसार पहिले उमेर पुगेकालाई मात्र हृदयघात हुने गरेकोमा पछिल्लो समयमा युवामा पनि यो समस्या बढ्दै गएको छ । अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, धूम्रपान, मदिरा सेवन, तनाव तथा मधुमेह र उच्च रक्तचाप, व्यस्त जीवनशैली र पर्याप्त आरामको अभावले पनि जोखिम युवामा बढ्दै गएको उहाँको भनाइ छ ।

यो रोगलाई रोगलाग्नु भन्दा अगाडि नै नियन्त्रण गर्न सक्ने भएकाले नियमित व्यायाम, सन्तुलित आहार, धूम्रपान तथा मदिराजन्य पदार्थको सेवनबाट टाढा रहनु, तनाव व्यवस्थापन गर्नु र रक्तचाप तथा रगतमा चिनीको मात्रा नियमित जाँच गराउनु डा.भट्टराईको सुझाव छ ।

हृदयघात भएकालाई समयमा नै स्वास्थ्य केन्द्र लगेर बन्द भएको भल्ब खोलियो भने यसका हुने जोखिमबाट बच्न सकिने हुँदा हृदयघातका लक्षणको शङ्का लागेमा चिकित्सकसँग परामर्श गर्न उहाँको सुझाव छ ।

– सिर्जना खत्री