न्युयोर्क, जेठ १९ गते । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ को समूह ‘एल’ लाई सबभन्दा कठिन मानिएको छ । यस समूहमा इङ्ग्ल्यान्ड, क्रोएसिया, पनामा र घाना रहेका छन् । विश्वकपमा पहिलो पटक ४८ टिमले भाग लिएको हुँदा प्रायः फुटबल राष्ट्रलाई समूह चरण पार गर्न सहज देखिएको छ । यद्यपि समूह ‘एल’ मा बलियो चार टिम परेका छन् ।
त्यसैले यस समूहलाई ग्रुप अफ डेथका रूपमा पनि हेरिएको छ । इङ्ग्ल्यान्ड र क्रोएसियाका रूपमा यस समूहमा दुई हेभिवेट टिम छन् । इङ्ग्ल्यान्ड पछिल्ला दुई युरोपेली च्याम्पियनसिपको उपविजेता हो । क्रोएसिया सन् २०१८ मा फाइलन र पछिल्लो संस्करणमा सेमिफाइनल खेलेको टिम हो । दक्षिण अमेरिकी राष्ट्र पनामा फिफा वरीयतामा ३३ औँ स्थानमा छ । यसै गरी घानामा युरोपका शीर्ष लिगमा खेल्ने खेलाडी एन्टोनियो सेमेन्यो, इनाकाई विलियम्स र थोमस पार्टी जस्ता खेलाडी हुनुहुन्छ ।
इङ्ग्ल्यान्ड
इङ्ग्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको ६० वर्ष पुगिसकेको छ । विश्व फुटबलमा बलियो राष्ट्र इङ्ग्ल्यान्डले सन् १९६६ मा जितेको सो विश्वकप अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन । पछिल्ला आठ वर्षको मात्र कुरा गर्ने हो भने इङ्ग्ल्यान्ड विश्वकप–२०१८ को सेमिफाइनल तथा युरो च्याम्पियनसिप २०२१ र २०२४ को फाइनलमा पुगेको थियो । सन् २०२४ को युरो फाइनल स्पेनसँग हारेपछि इङ्ग्ल्यान्डका प्रशिक्षक गरोथ साउथगेटले राजीनामा नै दिनुभयो । अहिले इङ्ग्ल्यान्ड जर्मनीका प्रशिक्षक थोमस टुचेलको रेखदेखमा रहेको छ । इङ्ग्ल्यान्डको टिममा टुचेलको सुरुवात राम्रो पनि छ । विश्वकप छनोट चरणमा इङ्ग्ल्यान्डले शतप्रतिशत जितको नतिजा बनाउने क्रममा सबै खेलमा क्लिन सिट बनाएको थियो तर पनि इङ्ग्ल्यान्डको प्रदर्शन वाह भन्ने खालको छैन । युरो २०२४ पछि इङ्ग्ल्यान्डको टिममा सुधार आएको छ अथवा यो टिम पछाडितिर गइरहेको छ भन्नेमा नै प्रश्न रहेको छ ।
क्रोएसिया
क्रोएसिया विश्वकप फुटबलमा सधैँ राम्रो खेल्ने टिम हो । सन् १९९८ मा क्रोएसियाले आफ्नो पहिलो विश्वकपमै तेस्रो स्थान हासिल गरेको थियो । २० वर्षपछि सन् २०१८ मा क्रोएसियाले विश्वकपको उपाधि भिडन्त नै ग¥यो । फ्रान्ससँग फाइनलमा हारेपछि मात्र क्रोएसिया विश्वविजेता बन्नबाट चुकेको थियो । चार वर्षअघि कतारमा भएको विश्वकपमा पनि क्रोएसियाले सेमिफाइनलसम्म खेल्यो । सो यात्रामा क्रोएसियाले पाँच पटकको विजेता ब्राजिललाई पनि बिदा गरेको थियो । ४० वर्षीय सुपर स्टार लुका मोड्रिच पुनः एक पटक क्रोएसियाको नेतृत्व गर्न तयार हुनुहुन्छ । रियल म्याड्रिडमा आबद्ध हुँदा मोड्रिचले छ च्याम्पियन्स लिग उपाधि जित्नुभएको थियो । सन् २०१८ मा क्रोएसियालाई विश्वकपमा पु¥याएपछि मोड्रिच विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीलाई प्रदान गरिने बालन डी ओर अवार्डको हकदार पनि बन्नुभएको थियो । क्रोएसियाका टिममा युरोपको शीर्ष लिगमा खेल्ने थुप्रै खेलाडी छन् । यद्यपि एमएलएसमा खेल्ने पिटर मुसा र मार्को पासालिच अमेरिकामा समर्थकका प्रिय खेलाडी बन्नुहुने छ । म्यान्चेस्टर सिटीका मिडफिल्डर माटिओ कोभासिचले यस सत्रका धेरै समय चोटका कारण गुमाउनुभएको छ तर विश्वकपमा उहाँ दुरुस्त हुने अनुमान गरिएको छ ।
घाना
म्यान्चेस्टर सिटीका फरवार्ड एन्टोनियो सेमेन्यो यस विश्वकपमा घानाका लागि चम्किने खेलाडी बन्न सक्ने प्रवल सम्भावना छ । प्रिमियर लिगमा प्रभावशाली प्रदर्शनपछि समेन्यो विश्वकपमा खेल्दै हुनुहुन्छ । बोर्नेमाउथबाट असाधारण प्रदर्शनपछि गत जनवरीमा सिटीले सेमेन्योलाई आठ करोड ७० लाख डलरमा टिममा भिœयाएको थियो । घानाले पछिल्ला छमध्ये पाँच विश्वकप खेलेको छ । सन् २०१० मा घानाले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । सो समय घाना सेमिफाइनलको निकै नजिक पनि थियो । अतिरिक्त समयको अन्तिम सेकेन्डमा डोमिनक आडियाको हेडरलाई गोलरेखामा रहेका उरुग्वेका लुइस सुवारेजले हातले रोकेपछि घाना जितबाट वञ्चित भएको थियो । सो घटनामा सुवारेजले रातो कार्ड र घानाले पेनाल्टी पायो तर आसिमो ग्यानले पेनाल्टीमा गोल गर्न सक्नुभएन । त्यसपछि उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसपछि घानाले विश्वकपको समूह चरण पार गर्न सकेको छैन ।
पनामा
पनामाले मात्र दोस्रो पटक विश्वकप फुटबल खेलदै छ । सन् २०१८ मा पनामाले पहिलो पटक विश्वकप खेलेको थियो । यद्यपि विश्वकप छनोटमा शीर्ष स्थान बनाएको पनामाबाट यस पटक ठुलो अपेक्षा गरिएको छ । पनामाको हालको लय पनि प्रभावशाली छ । पनामा गोल्डकप–२०२३ र कन्केकाफ नेसन्स–२०२५ को फाइनलमा पुगेको थियो । लिड्सका पूर्वप्रशिक्षक थोमस व्रिmस्टियनसेनले सन् २०२० मा जिम्मेवारी समालेपछि पनामाले लगातार राम्रो खेल्दै आएको छ । यस समूहबाट इङ्ग्ल्यान्ड र क्रोएसिया शीर्ष दुई स्थानको दाबेदार भए पनि पनामालाई पनि नकआउट चरणमा पुग्ने टिमका रूपमा लिइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































