06/01/2026, 17:57:05
सोमबार, जेठ १८, २०८३

‘कैलाश मानसरोवर’ को दर्शन गर्न आउँदै भारतीय पर्यटक


हुम्ला, जेठ १८ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न भारतीय पर्यटक आउन सुरु भएको छ । ती धार्मिक पर्यटक नेपालगन्जबाट कर्णाली काेरिडोर हुँदै पैदल मार्गबाट सिमकोटसम्म आइपुग्नु भएको हो ।

भारतबाट आफ्नै सवारी साधनमा नेपालगन्ज सुुर्खेत हुँदै सिमकोटसम्म भारतीय धार्मिक पर्यटकहरू आउन सुरु भएको प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताउनुभयो । उहाँले पहिलो दिन चार वटा साना गाडी र छ वटा मोटरसाइकलमा भारतीय नम्बर प्लेटका सवारी साधनमा पर्यटकहरू सिमकोटसम्म आइपुगेको बताउनुभयो ।

ती पर्यटकहरू लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने उद्देश्यसाथ आउने गरेको उहाँले बताउनुभयो । यसरी सिमकोटसम्म आफ्नो सवारी साधनमा आउने भारतीय पर्यटकले सिमकोटभन्दा माथि भने नेपाली नम्बर प्लेटका साधनहरू प्रयोग गर्नुपर्छ । सिमकोटमाथिको क्षेत्र निशेधित भएको कारण भारतीय नम्बर प्लेटका सवारी साधनहरू लिन पाइँदैन ।

आन्तरिक पर्यटकहरूको रोजाइमा रहेको लाप्चा क्षेत्र अब भारतीय पर्यटकको रोजाइमा पनि पर्नु सकारात्मक काम भएको छ । गत वर्ष मोटरसाइकलमा भारतबाट यसरी लाप्चा पुग्ने गरी भारतीय पर्यटक आउनुभएको थियो ।

– राजन रावत