

काठमाडौँ, जेठ १५ गते । उपत्यका मेयर्स फोरमले सरकारको आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णयले विद्यालयको पठनपाठन प्रभावित भएकाले निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकारसमेत कुण्ठित भएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा ऐन अनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था छ तर सरकारले अप्रत्याशित रूपमा आइतबार बिदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको छ ।”


सरकारको निर्णयले विद्यालयहरू १९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था देखिएको छ । स्थानीय तहले आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा सङ्घीय सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर आइतबार बिदा दिँदा विद्यार्थीको पाठ्यक्रम सम्पन्न गर्न समस्या हुने उहाँको भनाइ छ ।
बैठकले स्थानीय तह अन्तर्गत रहेका वडा कार्यालय, अस्पताल तथा समाज कल्याणसँग सम्बन्धित भवनको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । उपत्यका मेयर्स फोरमले हरेक महिना बैठक बसी समसामयिक विषयमा काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख तथा उप्रमुखसँग छलफल गरी निर्णय गर्दै आएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































