

हुम्ला, जेठ १४ गते । कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१ स्थित खच्चामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार बेलुका सडकमाथिबाट खसेको पहिरोका कारण यातायात सेवा ठप्प भएको हो ।
सडकमाथिबाट खसेको सुख्खा पहिरोले खच्चा क्षेत्रमा सडक पुरिएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो । उहाँका अनुसार करिब १० मिटर माथिबाट खसेको पहिरोका कारण सडकमा थुप्रिएको माटो र ढुङ्गा हटाउन नसकिएकाले हालसम्म सडक सञ्चालनमा आउन सकेको छैन ।
पहिरो खसेलगत्तै सानो जेसिबी प्रयोग गरेर सडक खुलाउने प्रयास गरिएको भए पनि सफल हुन नसकेपछि ठुलो जेसिबीको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । रातिको समय भएकाले पहिरो पन्छाउने काम बिहीबार बिहानदेखि सुरु गरिने भएको छ ।
ठुलो जेसिबी पुगेपछि पहिरो हटाएर सडक सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि माथिल्लो हुम्लाका पाँच गाउँपालिकातर्फ जाने तथा त्यहाँबाट फर्किने सवारी साधन खच्चा र सर्केगार्ड क्षेत्रमा रोकिएका छन् । उक्त क्षेत्रमा पटक–पटक सुख्खा पहिरो खस्ने समस्या रहेको स्थानीयले बताएका छन् ।
– राजन रावत
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























