05/27/2026, 14:36:37
बुधबार, जेठ १३, २०८३

एसियाली छनोट : नेपालले चीनलाई दियो १२६ रनको चुनौती


काठमाडौँ, जेठ १३ गते । एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको चुनौती दिएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा टस जितेर चीनविरुद्ध सुरुमा ब्याटिङ गरेको हो । पूरै २० ओभर खेल्दै नेपालले पाँच विकेटको क्षतिमा १२५ रन बनाएको हो ।

नेपालका लागि पूजा महतोले अर्धशतक बनाउनुभयो । महतोले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ६३ रन बनाउनुभएको हो । रुबी पोदारले नटआउट २२ रन जोड्नुभयो भने सोनी पाख्रिनले १८ रन थप्नुभयो ।

चीनका लागि कसिलो बलिङ गदै मा कुइकीले दुई विकेट हात पार्दा वाङ वाइयिङ र ली जिपिङले एकएक विकेट हात पर्नुभयो । अब चीनले जवाफी ब्याटिङ गर्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ । सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक खेलेको हो ।

मलेसियामा मंगलबार सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको छ । इन्डोनेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । उक्त लक्ष्य चीनले १९।५ ओभरमा पूरा गरेको हो । पहिलो जित निकालेको चीन उच्च मनोबलका साथ मैदानमा छ ।

नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष तीन टिम एसियाली खेलकुदका लागि छनोट हुनेछन् ।