लमजुङ, जेठ ११ गते । विश्वकै कठिन र उच्च क्षेत्रमा आयोजना हुने माउन्टेन बाइक रेसमध्ये चर्चित मानिने ‘याक अट्याक’ को १८औं संस्करण सोमबारदेखि चक्रीय अन्नपूर्ण पदमार्गमा सुरु भएको छ । नेपाललाई अन्तर्राष्ट्रिय साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न आयोजना गरिएको प्रतियोगितामा ११ देशका २८ जना साइकल धावक सहभागी छन् ।
माउन्टेन बाइकिङ वर्ल्ड वाइड लिमिटेड बेलायतको आयोजनामा भएको ‘याक अट्याक–२०२६’ लाई माउन्टेन बाइकिङ वर्ल्ड वाइड प्रालि नेपालले व्यवस्थापन गरेको हो । बहुदिवसीय प्रतियोगितामा २१ विदेशी र ७ नेपाली साइकल धावक सहभागी छन् । विदेशीमध्ये भारतका ५ पुरुष खेलाडी, ३ विदेशी महिला र १ नेपाली महिला खेलाडी प्रतिस्पर्धामा छन् । ६० वर्षमाथिका २ जना विदेशी छन् ।


प्रतियोगितामा गत वर्षका विजेता खुसीमान घर्तीमगरसहित धुलिखेल अस्पतालका डाक्टर विकास पराजुलीले पनि सहभागिता जनाएका छन् । सहभागीहरू नेपाल, भारत, आयरल्यान्ड, जर्मनी, बेलायत, अस्ट्रिया, ब्राजिल, स्विडेन, इजरायल र स्पेन बाट आएका हुन् ।
प्रतियोगिता व्यवस्थापक अजय पण्डित क्षेत्रीका अनुसार खेलाडीहरूले करिब २ सय ५० किलोमिटर दूरी पार गर्नेछन् । प्रतियोगिताको पहिलो चरण अन्तर्गत साइकल धावकहरूले आइतबार लमजुङको बेंसीसहर–पुमागाउँ–बाग्लुङपानी–नजरे हुँदै चण्डीस्थान मकैडाँडा झरेर पुनः बेंसीसहरसम्म करिब ३० किलोमिटर दूरी पार गरेका छन् ।
सोमबारदेखि उनीहरू चक्रीय पदमार्ग हुँदै हिमाली जिल्ला मनाङतर्फ उक्लिएका छन् । सोमबार दोस्रो दिन चामे, तेस्रो दिन मनाङ पुग्ने तालिका छ । चौथो दिन मनाङ गाउँमा विश्राम लिनेछन् । पाँचौं दिन थोराङ्ला फेदी हुँदै छैटौं दिन विश्वकै अग्ला हिमाली भञ्ज्याङमध्ये एक मानिने ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला पास पार गरेर मुस्ताङको कागबेनी झर्नेछन् । सातौं दिन कालोपानीमा पुगेर प्रतियोगिता सकिनेछ । समापन कार्यक्रम मे ३१ (जेठ १७ गते) पोखरामा आयोजना गरिने रेक ओ–अर्डिनेटर ज्ञानेन्द्र स्थापितले बताए । प्रतियोगितामा पुरुष तथा महिलातर्फ प्रथम हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


सन् २००७ मा सुरु भएको ‘याक अट्याक’ सुरुवाती चरणमा ट्रेल रनिङ र माउन्टेन बाइकिङ दुवै समेटिएको प्रतियोगिता थियो । तर नेपालको हिमाली भू–भागमा साइकल पर्यटनप्रति बढ्दो आकर्षणसँगै सन् २००९ देखि यसलाई पूर्ण रूपमा बहुदिने माउन्टेन बाइक रेसका रूपमा विकास गरिएको साइकल धावकसमेत रहेका व्यवस्थापक पण्डित क्षेत्रीले बताए । सुरुका दिनमा उनी धावक बनेर विजयीसमेत बनेका थिए ।
उकालो चढाइ, साँघुरा गोरेटो, हिमाली ट्रेल र उच्च उचाइका जोखिमपूर्ण मार्ग पार गर्नुपर्ने भएकाले ‘याक अट्याक’ लाई विश्वकै कठिन माउन्टेन बाइक दौडमध्ये एक मानिन्छ । आयोजकका अनुसार प्रतियोगिता केवल खेलकुदमा मात्रै सीमित नभई नेपालको पर्यटन, संस्कृति र स्थानीय समुदायको प्रवर्द्धनसँग पनि जोडिएको छ ।
– आश गुरूङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















































