05/25/2026, 23:08:49
सोमबार, जेठ ११, २०८३

मंगोलियामा पलेशालाई कांस्य पदक


काठमाडौँ, जेठ ११ गते । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कांस्य पदक जितेकी छन् ।

मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलमा पलेशाले उक्त पदक जितेकी हुन् । पहिलो चरणमा बाइ पाएकी पलेशा सोझै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसँग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भएका थिए । दुवै जना इरानीसँग नै पराजित भएका हुन् ।

अब अमिर र रेणुले उलानबटारमै मंगलबारदेखि हुने आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगिता खेल्नेछन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुनेछन् । पलेशा भने छनोट प्रतियोगितामा सहभागी हुने छैनन् । उनी विश्व वरीयताका आधारमा एसियाडका लागि छनोट भइसकेकी छन् ।