05/23/2026, 14:43:11
शनिबार, जेठ ०९, २०८३
संघीय संसद् भवन

नयाँ संसद भवनमा बजेट भाषणको तयारी (फोटो फिचर)


काठमाडौँ, जेठ ९ गते ।  नेपालको संसदीय इतिहासमा नयाँ अध्यायको सुरुवात हुँदैछ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने गरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौँ रुपियाँ भाडा तिरेर सञ्चालन हुँदै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा सारिने भएको छ ।

गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलाइएको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

नेपाली संसदीय इतिहासको एउटा ठुलो सङ्क्रमणकालीन यात्रा अब टुङ्गिने चरणमा पुगेको छ । यो संरचना नेपालकै सबैभन्दा सुरक्षित, भूकम्प–प्रतिरोधी र अत्याधुनिक प्रविधियुक्त भवन हो । बजेट भाषणको चटारोलाई मध्यनजर गर्दै २४ सै घण्टा सिफ्टमा कामदार परिचालन गरिएको छ ।

नवनिर्माणाधीन भवनको सबैभन्दा ठूलो आकर्षण यसको माथिल्लो गुम्बज संरचना हो । भूकम्प र हावाहुरी प्रतिरोधी डिजाइनमा तयार गरिएको डबल–डेकर फलामे ट्रसको गोलाकार गुम्बजले मुख्य प्रतिनिधिसभा हलको छाना ढाकेको छ ।

दिउँसोको उज्यालो सिधै छिर्ने गरी डिजाइन गरिएको यो गुम्बज संरचनाले ऊर्जा बचतमा समेत मद्दत गर्ने प्राविधिकहरूको भनाइ छ । राजनीतिक वृत्तमा पनि यस नयाँ संरचनामा बजेट भाषण गर्नुलाई नेपालको स्थायी लोकतन्त्र र राज्यको आफ्नै निर्णय क्षमताको प्रतीकका रूपमा हेरिएको छ ।