05/23/2026, 14:42:46
शनिबार, जेठ ०९, २०८३

फेरिँदै छ कर्मचारीको कार्यशैली


काठमाडौँ, जेठ ९ गते । नयाँ सरकारको आगमनसँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्र्यशैलीमा पनि परिवर्तन देखिएको छ । यसअगाडि कार्यकक्षमा प्रायः नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् । खाजा खाने समयमा पनि कर्मचारी कार्यालयमै बसेर काममा व्यस्त देख्न सकिन्छ । कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ ।

कर्मचारीहरू बिहान ९ देखि साँझ ५ बजेसम्मै कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन् । उच्च तहका कर्मचारी त बिहान ९ देखि साँझ ८ बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ । राष्ट्रिय सतर्कता केन्द्रले गत वैशाखमा गरेको छड्के अनुगमनका क्रममा केहीबाहेक अधिकांश कर्मचारीको कार्यशैली र स्वाभावमा परिवर्तन आएको जनाएको छ ।

केन्द्रका सूचना अधिकारी सरिताकुमारी खतिवडाले आफूहरूले गरेको कार्यालय र कर्मचारीको छड्के अनुगमनका क्रममा पनि विगतका तुलनामा अहिले कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने, कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने, एक अर्काको शाखा कार्यालयमा गएर अलमलिने कार्य अहिले रोकिएको छ । अहिले त सतर्कता केन्द्रले एकसरो मात्र अनुगमन गरेको छ । केही कार्यालयमा दोहोरो गरिएको छ । अब पुनः छड्के अनुगमन गर्दा अझ कर्मचारीको प्रवृत्तिको वास्तविक तथ्याङ्क आउँछ ।

केन्द्रले अहिले दैनिक सातदेखि नौ वटा टोली खटाएर विभिन्न कार्यालयको छड्के अनुगमन गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले अहिले कर्मचारी संयन्त्रले सरकारको ‘स्प्रिट र स्पिड’ सँग तालमेल मिलाइरहेको बताउनुभयो । “सरकार जसरी सुशासन र सेवा प्रवाहका लागि क्रियाशील भएर लागेको छ, कर्मचारी संयन्त्र पनि सोही अनुसार सेवा प्रवाह र सुशासनका लागि सक्रिय हुँदै आएका छन्,” उहाँले थप्नुभयो ।

कर्मचारीलाई जबरजस्ती काम लगाउनेभन्दा पनि कर्मचारी आफैँले स्वविवेक प्रयोग गरेर सरकारको कार्यलक्ष्य अनुसार काम हुँदै गएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । स्थानीय शासनविज्ञ डा. शेषरमण न्यौपानेले विगतको तुलनामा अहिले कर्मचारी संयन्त्रको कार्यशैलीमा परिवर्तन आाएको आफूले पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कार्यालयमा जाँदा बिनाझन्झट सहज र छिटो सेवा पाइन्छ । कतिपय सेवाग्राहीले गर्ने काम त कर्मचारी आफैँले नै गरिदिन्छन्, यही हो परिवर्तनको अनुभूति ।” विगतमा कार्यालयको प्रगति ५० प्रतिशत मात्र हुने तर कर्मचारीले कार्यसम्पादनमा शतप्रतिशत अङ्क हासिल गर्थे । अब त्यस्तो होइन, कार्यालय र कार्मचारीको प्रगति बराबरी हुनुपर्ने उहाँको तर्क छ ।

संरचनागत सुधार आवश्यक

अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह गर्ने संरचनै कमजोर छ । एउटै कामका लागि सेवाग्राही पटक पटक एउटै कार्यकक्षमा धाउनुपर्ने अवस्था छ, त्यसको अन्त्य गर्नु पर्छ । कतिपय कार्यालयमा विद्युतीय प्रणाली लागु नहुँदा भौतिक उपस्थितिबिना कामै नहुने अवस्था छ ।

नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले नयाँ सरकार गठनसँगै कर्मचारी संयन्त्रमा केही परिवर्तन आए पनि संरचनागत सुधारमा भने अझ धेरै परिवर्तन गर्न बाँकी नै रहेको बताउनुभयो । उहाँले कार्यालयको फाराम छोटो, छरितो र सबैले सहज रूपमा बुझ्ने बनाउनुपर्ने, कर्मचारीको सत्चरित्रको पूर्वपरीक्षण गर्नुपर्ने, सबै कार्यालयमा सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागु गर्नुपर्ने, सबै सार्वजनिक निकायमा गुनासो सुन्ने अधिकारी व्यवस्था गर्नुपर्ने र सूचना अधिकारीको भूमिका थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

वृत्तिविकासमा समयानुकूलता

कर्मचारीलाई जबरजस्ती काम मात्र लगाउनेभन्दा पनि सेवा सुविधा थप समयानुकूल बनाएर, कर्मचारी खुसी बनाएर काम लगाउँदा सरकारको नीति, योजना र बजेट कार्यान्वयन थप सहजता आउने प्रशासनविद्हरूको तर्क छ । तल्लो तहका कर्र्मचारीको अहिले सरकारले प्रदान गरेको सेवा सुविधाले मात्र दैनिकी चलाउनै कठिन भएकाले सरकारले समयानुकूल रूपमा कर्मचारीको वृत्तिविकास गरी काममा गुणस्तर कायम गर्नुपर्ने पूर्वसचिव अधिकारीको सुझाव छ ।

– नगेन्द्र सापकोटा