05/23/2026, 09:28:30
शनिबार, जेठ ०९, २०८३
आइसिसी क्रिकेट विश्वकप लिग–२

शानदार लयमा नेपाली क्रिकेट टिम


काठमाडौँ, जेठ ९ गते । आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिका र स्कटल्यान्डसँगको त्रिदेशीय शृङ्खला खेल्नुअघि नेपालले चारमध्ये तीन खेल जित्ने सम्भावना देख्ने सायद कमै थिए । किनभने आठ टिम सहभागी विश्वकप लिग–२ को २०२३/२४–२०२७ ‘साइकल’ मा अमेरिका र स्कटल्यान्ड शीर्ष दुई स्थानमा रहेका टिम हुन् । स्कटल्यान्ड गत विजेता टिम पनि हो । नेपाल भने पुछारबाट दोस्रो स्थानमा थियो । त्यसैले घरेलु मैदानमै भए पनि अमेरिका र स्कटल्यान्डको चुनौती नेपाललाई कठिन हुने अनुमान गरिएको थियो । तर नेपालले आफ्नो भूमिमा दुवै टिमलाई निरीह बनायो ।

नेपालले शुक्रबार अन्तिम खेलमा अमेरिकालाई १२२ रनको लज्जास्पद हार चखाएर यस शृङ्खलालाई सफल बनाएको छ । यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग जितको नजिक हुँदाहुँदै पनि डकवर्थ लुइसको नियम अनुसार दुई रनले पराजित भएपछि नेपालले दोस्रो खेलमा अमेरिकालाई नै ८० बल बाँकी छँदै नौ विकेटले हराएर शानदार पुनरागमन गरेको थियो । त्यसपछि नेपालले तेस्रो खेलमा स्कटल्यान्डलाई पनि एकपक्षीय रूपमा हराएर बदला लिएको थियो । यसअघि यो महिनै यसै प्रतियोगिता अन्तर्गत ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सामेल त्रिदेशीय शृङ्खलामा पनि नेपालले चारमध्ये तीन खेलमा जित हात पारेको थियो ।

अङ्कतालिकामा नेपालको फड्को

पछिल्ला दुई शृङ्खलामा खेलिएका आठमध्ये छ खेल जितेर नेपालले एकदिवसीय मान्यता जोगाउने अभियानलाई बलियो बनाएको छ । यसै गरी शीर्ष चारमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा चयन हुने नेपालको झिनो सम्भावना पनि कायम छ । चालु विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन शीर्ष चार र एकदिवसीय मान्यताप्राप्त गर्न शीर्ष छ स्थानमा रहनुपर्ने प्रावधान रहेको छ । नेपालले अझै आठ खेल खेल्न बाँकी छ । जसमध्ये नेपालले अब बाँकीका सबै खेल विदेशी भूमिका खेल्ने छ । नेपालले ११ जित, १५ हार र दुई अनिर्णीत खेलसहित २४ अङ्क बनाएको छ । नेपालभन्दा पछाडि नामिबिया (२२ अङ्क), क्यानाडा (२१ अङ्क) र संयुक्त अरब इमिरेट्स (१४ अङ्क) रहेका छन् । नेपालभन्दा माथि अमेरिका (३८ अङ्क), स्कटल्यान्ड (३८ अङ्क), ओमान (३१ अङ्क) र नेदरल्यान्ड्स (२८ अङ्क) छन् ।

दोस्रो सर्वाधिक ‘स्कोर’

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अमेरिकाले बिहान भएको वर्षाका कारण भिजेको पिचमा आफ्ना बलरलाई फाइदा हुने सोचेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर नेपालले अमेरिकाको सो निर्णयलाई गलत साबित गर्दै निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको विशाल स्कोर खडा ग¥यो । जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो सर्वाधिक स्कोर भएको छ । सन् २०२५ मा डुन्डीमा स्कटल्यान्डविरुद्ध बनाएको ३२१ रन नेपालको सर्वाधिक ओडिआई स्कोर हो । यद्यपि सो खेलमा नेपाल पराजित भएको थियो । अमेरिकाविरुद्ध शुक्रबार बनाएको रन नेपालका लागि पहिलो पालिमा सर्वाधिक स्कोर भएको छ ।

यसै गरी त्रिवि क्रिकेट मैदानमा नेपालको यो सर्वाधिक स्कोर हो । नेपालको पालि राम्रो हुनुमा इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको महŒवपूर्ण योगदान रह्यो । ‘वन डाउन’ ब्याट्सम्यान इशानले ८३ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ८४ रन बनाउनुभयो । लगातार खेलमा अर्धशतक बनाएका इशानको यो मात्र तेस्रो ओडिआई खेल हो । प्रारम्भिक ब्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले १२.५ ओभरमा ६९ रनको उत्कृष्ट साझेदारी दिए पनि क्रिजमा आएका इशानले नेपालको पालि समाल्नुभएको हो । कुशल २९ र आसिफ ४३ रनमा आउट भएपछि इशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग मिलेर ११० रनको शतकीय साझेदारी गरेपछि नेपालले तीन सयभन्दा धेरै रन बनाउने आधार पायो । रोहित चार रनले अर्धशतक बनाउनबाट चुक्नुभयो ।

यी दुईले बनाएका आधारको फाइदा दीपेन्द्रले उठाउनुभयो । दीपेन्द्रले मात्र ३६ बलमा ५९ रनको विस्फोटक पालि खेल्नुभयो । उहाँको पालिमा चार चौका र चार छक्का सामेल थियो । दीपेन्द्रको यो नवौँ ओडिआई अर्धशतक हो । गुल्सन झा १२, सोमपाल कामी पाँच र नन्दन यादव एक रनमा आउट हुनुभयो ।

स्पिन आक्रमणमा निरीह अमेरिका

अमेरिका लक्ष्य पछ्याउने क्रममा ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो । नेपालका स्पिनरले मिलेर सात विकेट लिएपछि अमेरिका कुनै पनि समय खेलमा फर्किन सकेन । अनुभवी बलर सोमपाल कामीले लयमा रहेका स्मित पटेललाई पहिलो ओभरमै शून्यमा आउट गरेपछि अमेरिका ठुलो दबाबमा परेको थियो । त्यसपछि सयन जहाँगिर र सेहान जयसूर्याले मिलेर ५३ रनको साझेदारी गरी पालि समाल्ने प्रयास गर्नुभयो । सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा जहाँगिरलाई २७ रनमा आउट गरी सो साझेदारी तोड्नुभयो । दुई रनपछि दीपेन्द्रले जयसूर्या (२६) लाई पनि बोल्ड गर्नुभयो । त्यसपछि सञ्जय कृष्णमूर्थिले मात्र उल्लेखलायक पालि खेल्नुभयो । उहाँले ४४ बलमा चार चौका र चार छक्कासहित ५६ रन बनाउनुभयो । उहाँलाई गुल्सन झाले आउट गर्नुभयो । कृष्णमूर्थिलाई नोस्थुस केन्जिगे (२९ रन) ले केही साथ दिनुभएको थियो । यी दुईले आठौँ विकेटका लागि ७० रनको साझेदारी गरेपछि हारको अन्तर केही कम भएको थियो ।

नेपालका लागि लेग स्पिनर सन्दीपले सर्वाधिक तीन विकेट लिनुभयो । अन्य दुई स्पिनर ललित राजवंशी र दीपेन्द्रको भागमा पनि दुई/दुई विकेट प¥यो । गुल्सनले पनि दुई ब्याट्सम्यानलाई आउट गर्नुभयो ।

‘मिहिनेत सफल भयो’

अमेरिकाविरुद्ध शानदार ब्याटिङ गर्ने इशान म्यान अफ दी म्याच घोषित हुनुभयो । उहाँले करिब दुई वर्षदेखि गरेको कठिन मिहिनेत सफल भएको बताउनुभयो । यो पछिल्लो शृङ्खला हाम्रा लागि निकै महत्वपूर्ण थियो । जसमा आठमध्ये छ खेलमा जित हात परेपछि धेरै खुसी लागेको उहाँले भन्नुभयो ।

– प्रजित शाक्य