05/21/2026, 10:53:07
बिहिबार, जेठ ०७, २०८३
इम्प्रेसन्स अफ भगवान् बहाल

ग्यालरी एक सय आठमा सम्झनाको एकल कला


काठमाडौँ, जेठ ७ गते । दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘इम्प्रेसन्स अफ भगवान् बहाल’ नामक कला प्रदर्शनी सुरु भएको छ । कलाकार सम्झना राजभण्डारीको एकल कला प्रदर्शनीमा राखिएका २८ वटा वुडकट चित्रकलामा भगवान् बहालभित्रका दृश्य, काठका स्तम्भ तथा सांस्कृतिक पक्ष झल्कन्छन् ।

भगवान् बहाल विक्रमशील महाविहारका नामले पनि चिनिन्छ । काठमाडौँकै पुरानो बहालमध्ये एक भगवान् बहाल काठमाडौँ उपत्यकाको सांस्कृतिक र आध्यात्मिक इतिहाससँग गहिरो रूपमा जोडिएको स्थल पनि हो । राजभण्डारीले आफ्नो व्यक्तिगत स्मृति, नेवार सांस्कृतिक चेतनालाई समकालीन दृश्य भाषामा प्रस्तुत गर्न खोज्नुभएको छ ।

होली पर्वमा सिन्दुरे जात्रा मनाउँदै गरेका मानिस, चाडपर्वका लागि परम्परागत चुलोमा खाना पकाउँदै गरेका दृश्य र मन्दिर परिसरका अँध्यारा कुनाकाप्चामा दगुर्दै खेल्ने बालबालिका प्रदर्शनीमा देखिन्छन् ।

काठको वास्तुकला र जटिल परम्परागत डिजाइनका ढोका, देवीदेवताले लगाएका आभूषण र पोसाक तथा परिसरको समग्र सौन्दर्य कलामा रहेको कलाकार भण्डारीले बताउनुभयो । “बाल्यकालका सूक्ष्म अनुभवलाई कलाकृतिमा देखाउन खोजेकी छु,” उहाँले भन्नुभयो ।

उहाँका कलाकृतिले बाल्यकालीन स्मृति मात्र होइन मठ तथा यसको समुदायसँगको जोडाइलाई अन्वेषण गर्दछ । उहाँले आफ्ना रचनाको अवधारणालाई हुलाक टिकटको ढाँचामा प्रस्तुत गर्नुभएको छ । उहाँले कलामार्फत सामाजिक तथा सांस्कृतिक जीवनमा कस्तो मूल्य राख्छ भन्ने कुरालाई व्यक्त गर्न खोजेको बताउनुभयो । उहाँले थप्नुभयो, “भगवान् बहालबारे धेरै पुस्तक र लेख प्रकाशित भएका छन् तर हुलाक टिकटको शक्ति प्रयोग गरेर सांस्कृतिक प्रतिनिधित्व गरी विश्वभर फैलाउन चाहन्छु ।

प्रदर्शनी जेठ २४ सम्म चल्ने छ ।

– सुकृत नेपाल