05/21/2026, 10:39:39
बिहिबार, जेठ ०७, २०८३

शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत


काठमाडौँ, जेठ ७ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औँ बैठक बुधबार सम्पन्न भएको छ । बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीन वटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ ।

परिषद् बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।

शिक्षा नियमावली, २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

मन्त्रालयका अनुसार, स्वीकृत नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम कार्यान्वयनबाट प्रशिक्षकको क्षमता विकास भई शिक्षकको पेसागत विकासका लागि सञ्चालन गरिने तालिम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

त्यसै गरी प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल शैक्षिक नेतृत्व विकास गर्ने र विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पु¥याउने विश्वास लिइएको छ ।

परिषद् बैठकले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीका लागि स्वीकृत गरेको सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्म अनुरूप तिनै तहका राष्ट्रसेवक कर्मचारीको क्षमता विकास गर्ने लक्ष्य राखेको छ । यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमको परिणाममुखी कार्यान्वयनमा मद्दत पुग्ने मन्त्रालयले अपेक्षा गरेको छ ।