काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र समायोजन भएको समूहको प्रतिनिधित्व, नेतृत्व चयन र विधान संशोधनलाई लिएर पार्टीभित्रको राजनीतिक गतिविधि तीव्र बनेको छ ।
विभिन्न समूहबाट पार्टीमा समाहित भएका नेताले महाधिवेशन सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा अगाडि सारेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको देश विकास पार्टी, विवेकशील साझा पार्टी, दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, थरुहट–थारुवान आन्दोलनसँग आबद्ध समूह तथा जेन-जी अभियन्ताको समूहबिच निर्वाचनअघि रास्वपासँग पार्टी एकता भएको थियो । यी पार्टीले संयुक्त रूपमा निर्वाचनमा प्रतिनिधित्व पाएको र अहिले संसद्मा समेत सोही अनुरूपको उपस्थिति रहेकाले महाधिवेशनमा पनि समान सहभागिता सुनिश्चित गर्न सर्वसहमतिमै कार्यसमिति चयन हुन सक्ने आकलन गरिएको छ ।
बुधबार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापतिमा रवि लामिछानेको विकल्प नभएको बताउनुभयो । रास्वपाभित्र विभिन्न राजनीतिक शक्ति समाहित भए पनि सबैको लक्ष्य राष्ट्रनिर्माणै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पार्दै भन्नुभयो, “पार्टीको आगामी महाधिवेशनमार्फत सर्वसहमत नेतृत्व चयनको प्रयास हुन्छ ।”
उहाँले रास्वपाले नयाँ नेतृत्व नखोजिएको बताउँदै महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारी टुङ्ग्याउने बताउनुभयो । रास्वपाले विधान संशोधन प्रक्रिया पनि अघि बढाएको छ । सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा गठन गरिएको कार्यदलले प्रदेशदेखि वडा तहसम्मबाट सुझाव सङ्कलन गरिरहेको जनाएको छ । सुझावका आधारमा संशोधन प्रस्ताव तयार गरी जेठ १० गतेभित्र पेस गरिने बताइएको छ ।


यसैबिच पार्टीको निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन मोडालिटी तयार पारिरहेको छ । केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
रास्वपाले महाधिवेशन तयारीका लागि देशभर नेतालाई जिम्मेवारीसमेत तोकेको छ । सांसद, पदाधिकारी र विभागीय प्रमुखलाई वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मा दिइएको छ । पार्टीले पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरिसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व आकाङ्क्षीको सक्रियता बढ्न थालेको छ । यद्यपि शीर्षनेताको जोड भने नेतृत्व सहमतिमै चयन गर्ने प्रयास रहेको देखिन्छ ।
रास्वपाका शीर्षनेताहरू सभापतिमा रवि लामिछाने र पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह नै निर्विकल्प देखिएको बताउँदै आउनुभएको छ । पार्टी उपसभापतिमा एक महिलासहित तीन जनामध्ये दुई जना नयाँ अनुहार आउने निश्चितै देखिन्छ । उपसभापति र महामन्त्री पदमा भने विभिन्न नेताबिच आकाङ्क्षा बढ्दै गएको देखिएको छ ।


पार्टीको विधानमा रास्वपा केन्द्रीय समिति १२९ सदस्यीय हुने व्यवस्था छ । सभापतिसहित ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुने र २२ जना सभापतिले मनोनय गर्ने व्यवस्था छ । सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था पनि गरिएको छ । साथै केन्द्रीय समितिमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ ।
विधान अनुसार पार्टी सभापतिमा उम्मेदवारी दिन यसअघि कम्तीमा एक पटक केन्द्रीय सदस्य भइसकेको र निर्वाचित हुन भने कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । महाधिवेशन दुई चरणमा सञ्चालन हुने व्यवस्था गरिएको छ । पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुने छ भने दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयनका लागि पनि महाधिवेशन प्रतिनिधि नै मतदाता रहने छन् । चुनाव भए सभापति पदमा प्रतिस्पर्धा गरी १० प्रतिशत मत कटाउने उम्मेदवार स्वतः केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान छ ।
हाल रास्वपामा एक सभापति, एक वरिष्ठ नेता, दुई उपसभापतिमध्ये एक पद रिक्त, दुई महामन्त्री, तीनमध्ये एक सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता तथा दुई सहप्रवक्ता पदाधिकारी रहेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































