

काठमाडौँ, जेठ ४ गते । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी अपहरण, हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति असनबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार, जन्मकैद सजाय भएकी उनी फरार भएपछि खोजीका लागि सहयोग गरिदिन कारागार प्रशासनले समन्वय गरेको थियो । ‘त्यसपछि निरन्तर खोजी गरिरहेका थियौं, गएराति फेला पारेका छौं,’ उनले भने ।
प्रहरीका अनुसार, उनलाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका २६ वर्षीय समिर श्रेष्ठसमेत पक्राउ परेका छन् । कारागार प्रशासनका अनुसार, उनी शनिबार राति साढे १ बजे कारागारको पर्खाल नाघेर भागेको पाइएको छ ।


तर, २४ सै घन्टा सुरक्षा निगरानीमा रहने कारागारबाट कसरी उनी भाग्न सफल भइन् भन्ने विषयमा विस्तृत जाँच सुरु भएको छ । जिल्ला अदालत, रसुवाले उनलाई जन्मकैद सजाय भएको थियो, त्यसपछि केन्द्रीय कारागार ल्याइएको थियो ।
– गौरव पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































