05/16/2026, 21:45:30
शनिबार, जेठ ०२, २०८३

हङकङमा रोकिएको नेपाल वायुसेवा निगमको न्यारोबडी ३ घण्टापछि उड्यो


काठमाडौँ, जेठ २ गते । इन्धन अभावका कारण हङकङमा रोकिएको नेपाल वायुसेवा निगमको न्यारोबडी ३ घण्टापछि उडेको छ ।

पुरानै कम्पनी शेभरनलाई अनुरोध गरेपछि आरए४१० उडान नम्बरको जहाजमा तेल भरेर उडेको वायु सेवा निगमले जनाएको छ । निगमका एक निर्देशकले भने, ‘पुरानै कम्पनी शेभरनलाई अनुरोध गरेपछि उसैले नै तेल हालिदियो । बिस्तृत बुझ्न बाँकी छ । आज विकेन्ड बिदा परेकाले सबै जानकारी आइसकेको छैन । हङकङमा इन्धन आपूर्ति गर्ने सेभरनसँगको सम्झौता सकिएको छ । नयाँ टेन्डरको प्रक्रिया जारी छ ।

काठमाडौंमा राति १० बजे अवतरण हुनुपर्ने उक्त जहाज अब राति साढे १२ बजे अवतरण हुने तालिका रहेको निगम जनाएको छ । जहाज हङकङबाट ८५ यात्रु लिएर फर्किएको हो ।

पर्यटन सचिव मुकुन्द निरौलाले निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलाई घटनाबारे सोधपुछ र समाधानका लागि निर्देशन दिएका थिए । सचिव निरौलाले सोमबार कालाखेतीलाई मन्त्रालयमा उपस्थित हुन निर्देशन पनि दिएको बताए ।

यसैबीच मन्त्रालयले हङकङस्थित निगमका कन्ट्री म्यानेजर मीगी केसी र स्टेसन म्यानेजर गुरुशरण साहसँग पनि स्पष्टीकरण लिने तयारी गरेको जनाएको छ । सरकारको अध्यादेशमार्फत हालै निगमको बोर्ड सदस्यबाट अवकाश पाएका पूर्वबोर्ड सदस्य रामप्रसाद खतिवडाले घटनालाई निगम व्यवस्थापनको गम्भीर लापरबाहीको संज्ञा दिएका छन् । उनका अनुसार अपरेशन विभाग प्रमुख सुवास रिजाल र कार्यकारी निर्देशक अमृतमान श्रेष्ठ यो घटनाका मुख्य जिम्मेवार हुन् ।

शनिबार काठमाडौंबाट १३० यात्रु लिएर हङकङ पुगेको जहाज फर्किने क्रममा इन्धन भर्न नपाएपछि रोकिएको थियो । हङकङस्थित इन्धन आपूर्तिकर्ता कम्पनी शेभरनसँग निगमको इन्धन सम्झौताको अवधि सकिएको र समयमै नवीकरण नगरिएको खुलेको छ ।

-सुरज कुँवर