05/16/2026, 19:52:23
शनिबार, जेठ ०२, २०८३

हङकङमा रोकियो नेपाल वायुसेवा निगमको जहाज


काठमाडौँ, जेठ २ गते । इन्धन अभावका कारण नेपाल वायुसेवा निगमको न्यारोबडी शनिबार हङकङमा रोकिएको छ । जहाज काठमाडौंका लागि ८५ यात्रु लिएर फर्किनुपर्ने थियो ।

निगमबाट प्राप्त जानकारी अनुसार उक्त जहाज आजै काठमाडौंबाट १३० यात्रु लिएर हङकङ गएको थियो । तर फर्किने क्रममा जहाजले आवश्यक इन्धन भर्न नपाएपछि उडान प्रभावित भएको हो ।

हङकङस्थित इन्धन आपूर्तिकर्ता निकाय शेभरोनसँग नेपाल वायुसेवा निगमको हवाई इन्धनसम्बन्धी सम्झौता अवधि समाप्त भइसकेको खुलेको छ । इन्धन भर्ने कर्मचारीले सम्झौता नवीकरण नभएको जानकारी दिएपछि जहाज त्यहीं रोकिएको बताइएको छ ।

जहाज अवतरण गरेको करिब एक घण्टा बितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन । सम्झौता नवीकरण गराउने विषयमा निगमको काठमाडौंस्थित अपरेसन विभाग तथा हङकङ स्टेसन दुवै पक्षको कमजोरी देखिएको स्रोतले जनाएको छ ।

हाल निगमले यात्रु व्यवस्थापन तथा उडान सञ्चालनका लागि आवश्यक पहल गरिरहेको जनाएको छ ।

हङकङस्थित निगमको कार्यालयले काठमाडौंलाई पठाएको ह्वाट्सएप सन्देशमा लेखिएको छ, “आरए१० उडान नम्बरमा इन्धन भर्नका लागि फ्युल भाउजर अझै आइपुगेको छैन । हामीले यस विषयमा विजय गुप्ता सरलाई सम्पर्क गर्ने प्रयास गर्‍यौं, तर उहाँको फोनमा सम्पर्क हुन सकिरहेको छैन ।

– सुरज कुँवर