05/15/2026, 11:13:32
शुक्रबार, जेठ ०१, २०८३

कैलाश मानसरोवर तीर्थयात्रा सुरु, २५ भारतीय पर्यटक भित्रिए


सुर्खेत, जेठ १ गते । यस वर्षको कैलाश मानसरोवर तीर्थयात्रा सुरु भएको छ । बिहीबार जहाजमार्फत २५ भारतीय पर्यटक भित्रिएसँगै तीर्थयात्रा सुरु भएको हो ।

व्यवसायीहरूका अनुसार यस वर्ष झण्डै १५ हजार भारतीय पर्यटकले तीर्थयात्राका लागि ‘बुकिङ’ गराएका छन् । यस वर्ष गत वर्षभन्दा बढी ‘बुकिङ’ आएको कैलाश यात्रा सञ्चालक संघ (आक्टोन) ले जनाएको छ ।

मानसरोवर जान मौसम, भूगोल, दूरी र खर्चका हिसाबले धेरै पर्यटकको आकर्षण हिल्सा नाकाबाट देखिएको आक्टोन अध्यक्ष विमल नहर्कीले बताए । उनका अनुसार भारतीय तीर्थयात्रीले यस वर्ष ३५ वटा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश-मानसरोवर दर्शनका लागि ‘बुकिङ’ जारी राखेका छन् । गत वर्ष हुम्लाको बाटो भएर झण्डै ६ हजार ५ सय भारतीय तीर्थयात्री मानसरोवर दर्शनमा गएका थिए ।

व्यवसायीका अनुसार हिल्सा नाका हुँदै तीर्थयात्रामा जानेहरू भारतको नखनउको बाटो भएर नेपालगन्ज हुँदै हुम्ला जान्छन् । ‘नेपालबाट सबैभन्दा नजिकको भारतीय विमानस्थल लखनउ हो, त्यहाँबाट नेपालगन्जको दूरी १ सय ९० किमि छ, जुन ३ घण्टामै यात्रा गर्न सकिन्छ,’ अध्यक्ष नहर्कीले भने, ‘नेपालगन्जबाट जहाजमार्फत सिमकोट गएर हेलिकप्टरमार्फत चीन सीमाको हिल्सा पुगिन्छ, त्यहाँबाट १ सय ५ किमि दूरीको मानसरोवरको दूरी ४ घण्टामै पुरा गर्न सकिन्छ ।

उनका अनुसार नेपालगन्जमा पहिलो दिन बसेका पर्यटकहरू दोस्रो दिन हुम्ला सदरमुकाम सिमकोट बास बस्छन् भने त्यहाँबाट हेलिकप्टरमा चीन सीमास्थित हिल्सा पुगेर तेस्रो दिन मानसरोवर किनारको दार्चेन बेस क्याम्पमा बस्छन् । चौथो दिन झण्डै ६० किलोमिटर दूरीको कैलाश पर्वत पुगेर दर्शन गरी फर्किने गरेको उनले जानकारी दिए । ‘हिँड्न सक्नेहरू कैलाश पुगेर ५२ किमि दूरीमा परिक्रमा गर्छन् भने अशक्तहरू दार्चेन बेस क्याम्पबाटै दर्शन गरी फर्किन्छन्,’ पर्यटन व्यवसायी विजय सिंहले भने, ‘त्यहाँबाट फर्केर अर्को दिन सिमकोट बस्न आउँछन् भने भोलिपल्ट नेपालगन्ज फर्केर बास बस्छन्, यो रुट छिटोमा ७ दिनमा पूरा हुन्छ ।

पर्यटन व्यवसायीका अनुसार नेपालका अन्य ठाउँबाट मानसरोवर तीर्थयात्रा गर्न कम्तीमा १० दिन लाग्छ । सडक मार्गबाट रसुवाको रसुवागढी हुँदै केरुङ गएर पनि मानसरोवर यात्रा गर्न सकिन्छ भने केही तीर्थयात्रीले चीनको ल्हासा भएर हवाई मार्गबाट पनि मानसरोवर यात्रा गर्ने गरेका छन् । सिन्धुपाल्चोकको तातोपानी नाका भने अहिले बन्द छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले यो वर्षको पहिलो दिन जहाजमार्फत २५ जना भारतीय धार्मिक पर्यटक सिमकोट आइपुगेको बताए । उनका अनुसार तीर्थयात्राको सिजन सुरु भएसँगै सिमकोटमा मानवीय चहलपहल सुरु भएको छ भने सिमकोटबाट हिल्साका लागि हेलिकोप्टर उडानसमेत थालिएको छ । जसका लागि ५ वटा निजी हेलिकप्टर कम्पनीले हुम्लामै ‘नाइट स्टे’ गर्न थालेका छन् ।

तीर्थयात्रा सुरु भएसँगै होटल व्यवसाय, कृषक, भरिया र यातायात व्यवसायीलाई प्रत्यक्ष फाइदा पुगेको पर्यटन व्यवसायी विजय लामाले बताए ।

– कृष्णप्रसाद गौतम