05/15/2026, 11:13:09
शुक्रबार, जेठ ०१, २०८३

विश्वकपमा ‘म्याडोना र साकिरा’ को सांगीतिक प्रस्तुति

यो विश्वकपमै ऐतिहासिक अवसर रहनेछ । यसले विश्वकप जस्तो ठूलो प्रतियोगितालाई अझ रंगीन बनाउने छ ।


न्युयोर्क, जेठ १ गते । म्याडोना, साकिरा र के–पप मेघा सुपर स्टार बीटीएसले विश्वकप २०२६ को फाइनलमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

फिफाले बिहीबार घोषणा गरेअनुसार यो सुपर बाउल शैलीको मध्यान्तरको कार्यक्रम हुनेछ । फाइनल जुलाई १९ मा न्यु जर्सीस्थित मेटलाइट स्टेडियममा हुनेछ । कोल्ड प्लेका क्रिस मार्टिनले कार्यक्रम चलाउने छन् । विश्वकप इतिहासमै फाइनलमा यस्तो कार्यक्रम पहिलोपल्ट राख्न लागिएको हो ।

तर, अहिले नै कार्यक्रम कति लामो हुने हो भनेर चिन्ता सुरु भइसकेको छ । यसपल्टको विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो रहनेछ, किनभने यसमा ४८ देशको सहभागिता हुनेछ । ११ जुनदेखि सुरु हुने विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गत वर्षको मार्चमा फाइनलको बीचका यस्तो सांगीतिक कार्यक्रम हुने घोषणा गरेका थिए । त्यति बेला उनले कार्यक्रममा को–को सहभागी हुने र यो कति लामो हुन्छ त्यो भने बताएका थिएनन् । इन्टान्टिनोले इन्स्ट्राग्राममा भनेका छन्, ‘यो विश्वकपमै ऐतिहासिक अवसर रहनेछ । यसले विश्वकप जस्तो ठूलो प्रतियोगितालाई अझ रंगीन बनाउने छ ।’ सन् २०२४ को मियामीमा भएको कोपा अमेरिकाको फाइनलमा पनि मध्यान्तरमा कोलम्बियाली स्टार साकिराले आफ्नो प्रस्तुति दिएकी थिइन् । त्यो खेल हार्डरक स्टेडियममा भएको थियो ।

गत वर्षको फिफा क्लब वर्ल्डकपको मेटलाइट स्टेडियममा भएको फाइनलमा पनि मध्यान्तरमा सांगीतितक कार्यक्रम राखिएको थियो । यसले नियमित १५ मिनेटभन्दा बढीको समय लिएको थियो । इन्फान्टिनोले विश्वकपको अन्तिम सातातिर न्युयोर्कका टाइम स्क्वायरमा पनि विशेष कार्यक्रम राखिने बताए । फाइनलको बीचका आयोजना हुने कार्यक्रम फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डको सहयोगका लागि हुनेछ ।

विश्वकपका क्रममा विश्वभरबाट १० करोड डलर जम्मा हुने विश्वास गरिएको छ । साकिराले गत साता मात्रै यस विश्वकपको आधिकारिक गीतको अंश जारी गरेकी थिइन् । त्यस छोटो भिडियो ब्राजिलको ऐतिहासिक माराकाना स्टेडियममा छायांकन गरिएको थियो । सन् २०१० को विश्वकपको ‘वाका वाका’ गीत पनि साकिराले नै गाएकी थिइन् । यसपल्टको विश्वकपको गीतको नाम भने ‘दाइ दाइ’ रहेको छ ।

अहिले जारी गरिएको ६७ सेकेन्डको भिडियामा साकिराले रियो दी जेनेरियोस्थित माराकानाको मैदानमा हुन्छिन् र पछि उनले २० लाखभन्दा दर्शकसामु कोपाकाबाना बिचमा कन्सर्ट गरेको देखाइएको छ । त्यस क्रममा उनको हातमा यस विश्वकपको आधिकारिक बल ‘ट्रिओन्डा’ रहेको थियो । गीत अंग्रेजीमा रहेको छ । उनीसँगै ठूलो संख्यामा नर्तकी पनि छन् । उनीहरूले अमेरिका र कोलम्बियाली टिमको जर्सीसँग मिल्ने रंग पोसाक लगाएका छन् ।