05/14/2026, 21:36:29
बिहिबार, बैशाख ३१, २०८३

कीर्तिपुरमा खुकुरी प्रहारमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली


काठमाडौँ, वैशाख ३१ गते । काठमाडौंको चोभारमा प्रहरीले गोली चलाएर एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

कीर्तिपुरमा एक जना युवालाई खुकुरी प्रहार भएको घटनामा संलग्न सुजन शाहीलाई पक्राउ गर्ने क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो । कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले विशेष सूचनाका आधारमा घटनामा संलग्नलाई समात्न गएको टोलीमाथि उल्टै आक्रमण भएपछि यो परिस्थिति सिर्जना भएको जिकिर गरे ।

नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि सुरुमा दुई राउण्ड हवाई फायर भएको थियो,’ उनले भने, ‘त्यति गर्दा पनि नरोकिएपछि एउटा गोली उनको खुट्टामा लागेको छ ।

शाहीलाई प्रहरीले अस्पतालतर्फ लैजाँदै गरेको उनले बताए ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा २३ वैशाख दिउँसो साढे २ बजे धारिलो हतियार प्रहार गरेर विपिन घिमिरे नामक युवाको हत्या भएको थियो । सामान्य विवादमा साथीहरुबीच विवाद हुँदा यो घटना भएको प्रहरीको भनाइ छ । यो घटनामा संलग्न महेन्द्र शाह, रवीन्द्र धामी र रोशन विष्ट यसअघि नै पक्राउ परिसकेका थिए ।

– गौरव पोखरेल