काठमाडौँ, वैशाख २८ गते । बेलायतमा बस्दै आएका नेपाली समुदायबिच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ ।
नेपाली मूलका खेलाडीलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बिजिसिएलमा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताका खेल हरेक आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ । आइतबार सम्पन्न पहिलो साताको खेल तालिका अनुसार खुकुरी सिसी र रमाइलो सिसी, त्यसैगरी माया सिसी र नेपालीज रोयल्स सिसी, नया युवा सिसी र हिमालयन सिसी तथा एभरेस्ट राइनोज सिसी र साथी सिसीबिचको खेल समपन्न भयो ।


बिजिसिएल बेलायतमा नेपाली समुदायलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो तथा एकमात्र क्रिकेट लिग हो । हालसम्म पाँच सफल संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको लिग ह्याम्पशायर क्रिकेट बोर्ड, नेसनल एसियन क्रिकेट काउन्सिल र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ ।
आयोजकका अनुसार प्रतियोगिताले बेलायतमा रहेका नेपाली युवालाई क्रिकेटमार्फत एकताबद्ध गर्नुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस वर्षको संस्करण पनि प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ ।
ब्रिज इन्टरनेसनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिता मे १० देखि अगस्टसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































