काठमाडौँ, वैशाख २८ गते । सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहणका लागि पुगेका पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथप्रदर्शक, भरिया, भान्से र उचाइमा जाने कामदारको जमघटले यतिबेला सगरमाथा आधार शिविर सानो सहर जस्तै बनेको छ ।
अग्ला शिखरको फेदीमा आरोहीको बास व्यवस्थापनका लागि चट्टानी भूभागमा फैलिएका सयौँ रङ्गीचङ्गी पाल र ध्वजा, आधार शिविरमा दैनिक दर्जनौँ पटक हुने हेलिकोप्टरको ओहोरदोहोर, टेन्टभित्र बालिएका बत्ती र सङ्गीतको धुनले कठोर हिमगल्छी एउटा अस्थायी सहर जस्तो भएको छ । आरोहण सहजीकरणका लागि अस्थायी फिल्ड कार्यालय खुम्बुमा खटिएका ज्ञानेन्द्र श्रेष्ठका अनुसार शिखर चुम्ने एउटै सपना बोकेर संसारभरबाट आएका आरोही तथा सहयोगी लगायत करिब दुई हजार जना त्यहाँ छन् ।
उहाँले भन्नुभयो, “यस पटक सगरमाथा आरोहणका लागि ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) कार्य चौथो शिविरसम्म पूरा भएसँगै आधार शिविरबाट पहिलो, दोस्रो, तेस्रो क्याम्प हुँदै चौथो क्याम्पमा अक्सिजन सिलिन्डर, टेन्ट, खानालगायतका आरोहण सामग्री पु¥याउने काम सुरु भएको छ । एक महिनादेखि आरोहणको पर्खाइमा रहेका आरोही अनुकूलनका लागि उपल्लो शिविरतर्फ उक्लने र ओर्लने क्रमले आधार शिविरको माहोल गुल्जार बनाएको छ ।”


मौसमले साथ दिए मङ्गलबारसम्म सगरमाथाको चुचुरोसम्मको बाटो तयार हुने जानकारी दिँदै उहाँले यस याममा सगरमाथा, ल्होत्से र नुप्से आरोहणको अनुमति लिएका ५६ समूहका छ सयभन्दा बढी आरोही र सहयोगीको चहलपहल रहेको बताउनुभयो । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्तकालीन पर्वतारोहणका लागि यस वर्ष सगरमाथामा आरोहीको सङ्ख्या र राजस्व सङ्कलनका हिसाबले नयाँ इतिहास रचेको छ ।
गत फागुन १७ देखि शुक्रबारसम्म सगरमाथा आरोहण गर्न ५० समूहका ४९२, ल्होत्से आरोहण गर्न १० समूहका १२० र नुप्से आरोहण गर्न छ समूहका ५६ जनाले अनुमति लिएको जानकारी दिँदै उहाँले उक्त सङ्ख्या हालसम्मकै सर्वाधिक रहेको बताउनुभयो । उहाँका अनुसार यसअघि सगरमाथा आरोहण गर्न सन् २०२३ मा सर्वाधिक ४७८ जनाले अनुमति लिएकामा यस वर्ष उक्त रेकर्डलाई उछिन्दै शुक्रबारसम्म ४९२ जनाले अनुमति लिएका छन् । साथै यस वर्ष सगरमाथा आरोहणको अनुमति दिएबापत एक अर्ब सात करोड ४० लाख ९५ हजार ४७५ रुपियाँ राजस्व सङ्कलन भएको छ । जुन इतिहासकै सर्वाधिक हो ।”


अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताउँदै उहाँले यो याममा सगरमाथा आरोहणका लागि उत्साहवर्धक रूपमा आरोही आएको जानकारी दिनुभयो । विभागका अनुसार यस याममा सगरमाथासहित ३० वटा हिमाल आरोहण गर्न नेपालसहित ७९ देशका एक हजार १३४ जनाले अनुमति लिएका छन् । जसमध्ये सगरमाथा आरोहण गर्न मात्रै ५५ देशका आरोही चुचुरोसम्मको बाटो खुल्ने प्रतीक्षामा छन् । ३० वटा हिमाल आरोहण गर्न दिएको अनुमतिबापत यस याममा एक अर्ब २४ करोड ४१ लाख २१ हजार ९५४ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।


यस वर्ष सगरमाथा आरोहण गर्न सबैभन्दा बढी चीनबाट १०९ जनाले अनुमति लिएका छन् । यस याममा चीनको चाइना तिब्बत माउन्टनियरिङ एसोसिएसन (सिटिएमए) ले उत्तरी मोहडाबाट हुने आरोहणका लागि अनुमति जारी नगरेपछि सगरमाथामा आरोहीको सङ्ख्यामा थप उत्साह आएको हो । त्यस्तै यस वर्ष सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति चार हजार अमेरिकी डलर आरोहण दस्तुर बढेकाले राजस्व आम्दानीले समेत इतिहास रचेको विभागले जनाएको छ ।
– मीनराज भण्डारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































