

काठमाडौँ, वैशाख २६ गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दोस्रो चरणमा ११ समस्याग्रस्त सहकारीका १०९ ठुला ऋणीको नाम सार्वजनिक गरेको छ । सहकारी बचत फिर्ताको दबाब बढिरहेका बेला समितिले ठुला ऋणीमाथि सार्वजनिक दबाब सिर्जना गर्ने रणनीति अघि बढाएको छ ।
समितिले ‘ठुला ऋणीको नामावली प्रकाशन–२’ शीर्षकमार्फत ११ वटा समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित १०९ जना ठुला ऋणीको विवरण सार्वजनिक गरेको हो ।
यसअघि समितिले पहिलो चरण अन्तर्गत १० समस्याग्रस्त सहकारीका ८७ ठुला ऋणीको नाम सार्वजनिक गरेको थियो ।
समितिका अनुसार दोस्रो चरणमा सार्वजनिक गरिएका ऋणी कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड तथा प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड र लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ठुला ऋणीको नाम सार्वजनिक सूचीमा समावेश छ ।
समस्याग्रस्त सहकारीबाट ठुलो रकम ऋण लिएर लामो समयदेखि भुक्तानी नगर्ने व्यक्ति तथा संस्थाको विवरण समितिले सार्वजनिक गर्दै आएको छ । सहकारी क्षेत्रमा देखिएको तरलता सङ्कट, बचतकर्ताको रकम फिर्तामा भएको ढिलाइ तथा वित्तीय अनुशासन कमजोर भएको अवस्थामा ठुला ऋणीमाथि दबाब सिर्जना गर्न नाम सार्वजनिक गर्ने रणनीति अपनाएको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज आचार्यले सम्पर्कविहीन ऋणीमाथि क्रमशः कानुनी तथा प्रशासनिक दबाब बढाइने नीति अवलम्बन गरिने बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक चरणमा ऋणीलाई समितिको सम्पर्कमा आउन आग्रह गरिने छ । त्यसपछि पनि अटेर गर्ने ऋणीको परिवारका सदस्य तथा नजिकका नातेदारसँग सम्बन्धित बैङ्क खाता, सार्वजनिक सेवा सुविधा तथा अन्य प्रशासनिक पहुँच सीमित गर्ने विकल्पसमेत अघिसारिने उहाँले बताउनुभयो ।
समयमै सम्पर्कमा आउने ऋणीलाई भने केही सहुलियत दिन सकिने उहाँको भनाइ छ । सहकारी बचतकर्ताको रकम फिर्तालाई प्राथमिकतामा राख्दै ठुला ऋणीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया निरन्तर अघि बढ्ने उहाँले बताउनुभयो ।
समितिले आगामी दिनमा थप समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाम पनि क्रमशः सार्वजनिक गर्ने तयारी गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























