काठमाडौँ, वैशाख १६ गते ।
‘न बस्न मिल्छ न त उठ्न नै, निकै बेर भो पालो पनि आएको छैन,’ वीर अस्पतालको टिकट काउन्टर अगाडि सुस्केरा हाल्दै ६० वर्षीया ठूली कान्छीले यति भनिन् र भुइँमा थचक्क बसिन् । घुँडा, जीउ दुख्ने लामो समयदेखिको समस्या देखाउन लैनचौरबाट सोमबार बिहानै छोरीको साथमा उनी अस्पताल आइपुगेकी थिइन् । ९ बजेर ५५ मिनेटमा टोकन लिएकी उनको साढे १२ बजेसम्म पनि पालो आएको थिएन । ‘आज त धेरै बेर पो लाग्ने रैछ त है,’ उनले भनिन् ।
काभ्रे स्थायी घर भएकी उनी ८ वर्षदेखि बिरामी छन् । धेरै अस्पताल धाइन्, उपचार गराइन्, थेरापी गराइन् तर दुखाइ कम भएको छैन । सरकारी सस्तो र राम्रो अस्पताल भनेर उपचार गर्न वीरमा आएको उल्लेख गर्दै उनले भनिन्, ‘अस्पतालको भीडभाडले झन् बिरामी होइन्छ कि भन्ने भइसक्यो । पालो कुर्दा त दिन जाने रैछ ।’
गोंगबुका टंकप्रसाद सुवेदी भतिजीलाई उपचार गर्न बिहानै ९ बजे सोही अस्पताल पुगे । करिब ११ बजे टोकन लिएका उनको १ बजेसम्म पनि पालो आएको थिएन । दिनभरि अस्पतालमा बस्नुपरेको उल्लेख गर्दै उनले भने, ‘सामान्य रुघाखोकी लागेर उपचार गराउँदा त यो हालत छ । ठूलो रोग लागेको भए के हुन्थ्यो होला ।’
हुन त उनी उपचार गर्न वीर अस्पताल आइरहन्छन् । आइतबार र शनिबार दुई दिनको बिदापछि खुलेको अस्पतालमा भीड बढेको उनले अनुमान लगाए । दुई दिन बन्दले धेरै बिरामी मर्कामा परेको उनको भनाइ छ । महाबौद्धमा कपडाको होलसेल व्यापार गर्दै आएका उनले पसल बन्द गरेर आएको र अस्पतालमा दिनभर बस्नुपर्दा व्यापारमा असर पुगेको सुनाए ।


बौद्धबाट आएका सुशील नाथकी श्रीमतीलाई मिर्गौलाको समस्या छ । जीउ, अनुहार सुन्निने समस्याले उनी एक साता अगााडि वीर अस्पताल जँचाउन आएका थिए । चिकित्सकले भिडियो एक्सरे गराएका थिए । त्यसको रिपोर्ट देखाउन तीन दिनदेखि अस्पताल धाइरहेका छन् । उनी अस्पताल आउँछन्, टोकन लिन्छन् तर पालो आउँदा डाक्टर हिँडिसक्छन् । सोमबार पनि उनले बिहान १० बजे टोकन लिएर टिकट काउन्टरको फलैचामा बसेर दुई घण्टादेखि पालो कुरिरहेका थिए । ‘गरिखाने मान्छेले रिपोर्ट देखाउन ३ दिन धाउनुपरेपछि कसरी गरेर खाने ?’ उनले प्रश्न गरे ।
गत २२ चैतमा सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसको असर अहिले सरकारी अस्पतालहरूमा देखिन थालेको हो । सरकारको उक्त निर्णयपछि आइतबार अस्पताल सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योलबीच ४ वैशाखमा स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल पनि बिदाका दिन बन्द हुने जनाएको थियो । यसले बिरामीहरूले लामो समय कुर्नुपर्ने, समयमा सेवा नपाउने तथा परीक्षणमा ढिलाइ हुने जस्ता समस्या भोगिरहेका छन् । विशेषगरी बिदापछि अस्पताल खुलेको पहिलो दिन बिरामीको चाप अत्यधिक बढ्ने गरेको छ । ओपीडीदेखि प्रयोगशाला तथा रेडियोलोजी सेवासम्म दबाब बढेको चिकित्सक बताउँछन् ।
वीर अस्पतालका सिनियर कन्सल्टेन्ट फिजिसियन अनन्तभक्त उप्रेती अहिले दुई दिन बिदाले केही असर गरेको बताउँछन् । तर वीर अस्पतालमा भीडभाड हुनुमा तीन कारण रहेको उनको भनाइ छ । पहिलो, अन्य अस्पतालले स्वास्थ्य बिमा बन्द गरेका छन्, जसले बिरामी बिमाको सुविधा लिन वीरमा आइपुग्छन् । दोस्रो, एउटै बिरामीले फरक फरक विभागको ओपीडी सेवा लिन धेरै पटक टिकट काट्ने हुँदा काउन्टरमा भीड देखिन्छ । तेस्रो, बिरामीलाई उपचार सुविधा पाउने दिनबारे थाहा नहुँदा भीड देखिएको उप्रेतीको भनाइ छ । ‘बिरामीलाई बारअनुसार उपचार पाउनेबारे थाहा हुँदैन, त्यसैले जुनै दिन पनि आउँदा भीडभाड भएको छ,’ उनले भने ।


अस्पतालका सूचना अधिकारी ताराबहादुर कुँवरका अनुसार दुई दिनको बिदापछि सोमबार ओपीडी सेवामा बिरामीको संख्या उल्लेखनीय रूपमा बढ्ने गरेको छ । उनका अनुसार अन्य दिनमा दैनिक ३ देखि ४ हजार बिरामीले ओपीडी सेवा लिने भए पनि सोमबार यो संख्या ५ हजारभन्दा माथि पुग्ने गर्छ । ओपीडी सेवा लिन आएका सबै बिरामीलाई सेवा दिइएको भए पनि यसले अस्पतालमा ठूलो दबाब सिर्जना गर्ने गरेको उनले बताए । ‘अहिलेसम्म ओपीडी सेवा नपाएर बिरामी फर्किनुपरेको अवस्था छैन तर, प्रयोगशाला तथा रेडियोलोजी सेवामा भने अस्पतालले बिरामीको चाप धान्न कठिनाइ भइरहेको छ,’ उनले भने ।
ल्याब टेस्ट र रेडियोलोजी परीक्षणमा सीमित मेसिनका कारण ढिलाइ हुने गरेको उनले जानकारी दिए । विशेषगरी एमआरआई जस्ता परीक्षणका लागि बिरामीले लामो समय कुर्नुपरेको उनले सुनाए । एमआरआई गर्ने बिरामीहरूको पालो जेठ महिनासम्म पुग्ने गरेको छ । अस्पताल प्रशासनले बिरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न सेवा विस्तार, सुधार र जनशक्ति थप्नु आवश्यक रहेको औंल्याएको छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दैनिक ७ सयदेखि १ हजारको हाराहारीमा ओपीडीको सेवा लिन पुग्छन् । तर दुई दिनको बिदापछि गत सोमबार बिरामीको संख्या १ हजार ४ सय ५९ पुगेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालकी सूचना अधिकारी रानु थापाले बिदाको भोलिपल्ट बिरामीको संख्या बढेको बताइन् । बिदाले बिरामीको चाप बढे पनि अस्पतालले व्यवस्थापन गरिरहेको उनको भनाइ छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि अन्य दिनभन्दा सोमबार ७ सयभन्दा बढी बिरामी थपिएको अस्पताल प्रशासनको तथ्यांक छ ।


राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रुद्र मरासिनीले दुई दिनको बिदापछि अस्पतालमा बिरामीको चाप स्वाभाविक रूपमा बढ्ने बताए । ‘ट्रमा सेन्टरमा सामान्यतया दैनिक करिब ७ सय बिरामी आउने गरेकामा बिदापछिको सोमबार थप २ सयभन्दा बढी बिरामी आएका छन्,’ उनले भने । ओपीडी सेवा बिदाका दिनहरूमा बन्द भए पनि इमर्जेन्सी र अपरेसन सेवा भने निरन्तर सञ्चालन हुने भएकाले समग्र सेवा प्रवाहमा ठूलो असर नपर्ने उनले बताए । उनका अनुसार बिदाका कारण रोकिएका बिरामीलाई व्यवस्थापन गर्न आइतबारको ओपीडी सेवा अन्य दिनमा सारेर सञ्चालन गरिएको छ । यसरी सेवा व्यवस्थापन गरे पनि बिरामीको चाप पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन करिब एक महिना लाग्ने उनले जानकारी दिए ।
आइतबार सरकारी अस्पताल खुलाउने प्रयास भए पनि त्यसका लागि बजेट व्यवस्था नभएकाले सम्भव नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । ‘निजामती सेवामा बिदा हुँदा स्वास्थ्यकर्मीले पनि बिदा मागे,’ उनले भने, ‘सार्वजनिक बिदामा काम लगाउँदा स्वास्थ्यकर्मीलाई सट्टा बिदा वा पैसा दिनुपर्यो । त्यो सम्भव नहुँदा असपताल बन्द गर्नुपरेको हो ।’ इमर्जेन्सी, अपरेसन जस्ता आपत्कालीन सेवाहरू चौबिसै घण्टा सञ्चालन भएकाले बिरामीहरूले आपत्कालीन सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नभएको उनको भनाइ छ ।
– प्रकृति दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































