04/25/2026, 13:44:18
शनिबार, बैशाख १२, २०८३

क्रिकेट विश्वकप लिग २ : यूएईलाई नेपालको २ सय १ रनको लक्ष्य


काठमाडौँ, वैशाख १२ गते । दीपेन्द्रसिंह ऐरीको अर्धशतकपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा शनिबार यूएईलाई २ सय १ रनको लक्ष्य दिएको छ । यूएईका कप्तान मोहम्मद वासिमले टस जितेपछि ब्याटिङमा आएको नेपाल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४८.२ ओभरमा २ सय रनमा अलआउट भयो ।

दीपेन्द्रको ७५ रनपछि मात्र नेपाल यो स्थितिमा पुगेको हो । ६३ रनमा जीवनदान पाएका दीपेन्द्रले ९० बल खेली ५ चौका र २ छक्का प्रहार गरे । उनी नेपाली इनिङ्समा अन्तिम खेलाडीको रुपमा आउट भए । यो उनको छैटौं अर्धशतक हो ।

नेपालले पहिलो ओभरमा ८ रन प्रहार गरे पनि त्यसपछि बिर्सनलायक ब्याटिङ रहयो । दोस्रो ओभरमा खुजैमा तान्भिरले आसिफ शेखलाई ७ रनमा बोल्ड गरे । भीम सार्की १६ बल खेली २ चौका प्रहार गरी १० रनमा आउट भए । ओपनर कुशल भुर्तेलले २५ बल खेली ४ चौकासहित २४ रन बनाए ।

कप्तान रोहित पौडेल २ रनमा एलबीडब्लु आउट भएपछि नेपाल ४९–४ को स्थितिमा पुगेको थियो । बसिर अहमद र दीपेन्द्रले पा“चौं विकेटमा ४१ रनको साझेदारी गरे । बसिर २० रनमा एलबीडब्लु आउट भए । उनले ४७ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेख र सोमपाल कामी समान १५ रनमा आउट भए ।

दीपेन्द्र र करण केसीले आठौं विकेटमा ४२ रनको साझेदारी गरे । करणले ३७ बल खेली समान १ चौका र छक्कासहित २२ रन बनाए । सन्दीप लामिछाने २ रनमा आउट भए । यूएईका जुनाइद सिद्धिकी र अजय कुमारले ३–३ विकेट लिए । सिद्धिकीले ९.२ ओभरमा ३ मेडन राख्दै ३३ र अजयले ९ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चे । तान्भिरले २ विकेट लिए ।

– विनोद पाण्डे