सर्लाही, चैत १५ गते । सर्लाही सदरमुकाम मलङ्गवा बजारका मासु पसलबाट उपभोक्तामाथि चरम ठगी हुने गरेको पाइएको छ।
मलङ्गवा नगरपालिका ९ का वडाध्यक्ष चन्देश्वर रायको नेतृत्वमा शनिबार बजारका मासु पसलको अनुगमन गर्दा मासुको तौल बढाउन हावा र पानी भरेर बिक्री गर्नेसम्मका लापरवाही भेटिएको हो ।
उपभोक्ताबाट व्यापक गुनासो आएपछि बजारमा खसी र कुखुरा बध गरेर बिक्री गर्ने एक दर्जन मासु पसलको अनुगमन गरिएको वडाध्यक्ष रायले बताउनुभयो । अनुगमन गरिएका प्रत्येकजसो मासु पसलबाट साइकलमा हावा भर्ने पम्प र पाइप लगाएर पानी भर्ने उपकरण बरामद भएका वडाध्यक्ष रायले जानकारी दिनुभयो ।
“मासु पसलमा उपभोक्तालाई ठगी गर्न यतिसम्मको गतिविधि हुन्छ भन्ने कल्पना गरेका थिएनौँ,” वडाध्यक्ष रायले भन्नुभयो, “पहिलो पटक सबै पसल सञ्चालकलाई सचेत गराउने काम गरेका छौँ । दोस्रो पटक फेरि अनुगमन गर्दा यस्तै क्रियाकलाप भेटियो भने कारबाहीमै उत्रन्छौँ ।”
जथाभाबी मुल्य लिने गरेकोसहित उपभोक्ताबाट विभिन्न प्रकारका गुनासो आएपछि यसअघि पत्र काटेर सचेत गराउँदा मासु पसल सञ्चालकले बेवास्ता गरेको वडाध्यक्ष रायको भनाइ छ ।
हावा र पानी भरेर मासु बेच्ने गरेको भेटिएपछि मासु पसल सञ्चालकलाई सामूहिक रूपमा राखेर सचेत गराउन आइतबार बिहान वडा कार्यालयमा छलफलका लागि बोलाइए पनि उनीहरू सहभागी भएनन् । प्रहरीसमेतको सहयोगमा मासु पसलको अनुगमन गर्दा सर-सफाइमा ध्यान नदिएको पाइएको वडाध्यक्ष रायले बताउनुहुन्छ ।

मलङ्गवा बजारमा खसीको मासुको मुल्य प्रतिकेजी एक हजार रुपियाँ निर्धारण गरिएको छ । उपभोक्ताले भने प्रतिकेजी एघार सयदेखि बाह्र सयसम्म तिर्नुपरेको गुनासो गरेका छन् । वडाध्यक्ष रायले भन्नुभयो, “मासु पसलमा तौल र मूल्यमा पनि उपभोक्ता ठगरिएको गुनासो हामी कहाँ आएका छन् ।”
सर्लाहीमा सदरमुकाम मलङ्गवासहित अन्य बजारमा मासु पसलको अनुगमन बिरलै हुने गरेको छ । जथाभाबी वध गर्ने र अस्वस्थकर माछा, मासुको खुलेयाम बिक्री हुने गरेको गुनासो उपभोक्ताले गर्ने गरेका छन् ।
– जनार्जन खत्री
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
