10/12/2026, 05:25:29
आइतबार, असोज २५, २०८३

धारिलो हतियार प्रहार गरी हजुरआमा हत्या अभियोगमा नाति पक्राउ


लेखनाथ, पुस ४ गते। धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की  र इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगर पालिका वडा नम्बर ३१ बाँसपानी बस्ने २२ वर्षीय आशीष परियारलाई शुक्रबार पक्राउ गरेको हो।

बिहीबार दिउँसो साढे १२ बजेतिर आशीषले आफ्नै हजुरआमा ७५ वर्षीया दालकुमारी परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

वृद्धा दालकुमारीको कानसमेत काटी कानमा लगाएको गरगहना लुटिएको र अनुसन्धानका क्रममा आशीषलाई ती गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

आशीषलाई पोखरा–१०, बुद्धचोकबाट पक्राउ गरी कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिनुभयो।

– फडिन्द्र अधिकारी