वासिङ्टन, साउन ६ गते । संयुक्त राज्य अमेरिकाले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकास सम्बन्धी दीर्घकालीन सम्झौताको घोषणा गर्ने तयारी गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
इरानसँगको तनाव र यमनमा हुथी विद्रोहीसँग पुनः चर्किएको द्वन्द्वबिच हुन लागेको यो सम्झौतालाई रणनीतिक महत्त्वका साथ हेरिएको छ । अमेरिकी सञ्चार माध्यम न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले बुधबार साउदी अरेबियासँग औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरी त्यसको घोषणा गर्ने योजना बनाएको छ । पत्रिकाले नाम नखुलाइएका दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अनुसार सम्झौताले अमेरिकी आणविक उद्योगका लागि अर्बौ डलर बराबरका व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । वाल स्ट्रिट जर्नलका अनुसार ३० वर्षका लागि लागु हुने प्रस्तावित सम्झौता अन्तर्गत संयुक्त प्राविधिक अध्ययनले आवश्यकता देखाएमा अमेरिकी कम्पनीले साउदी अरेबियामा युरेनियम संवर्धन सुविधा निर्माण गर्न सक्ने व्यवस्था रहने छ ।
तर प्रस्तावित सम्झौताप्रति अमेरिकाभित्रै मिश्रित प्रतिक्रिया देखिएको छ । दुवै प्रमुख राजनीतिक दलका केही सांसद तथा इजरायली अधिकारीहरूले साउदी अरेबियाले नागरिक प्रयोजनका नाममा भविष्यमा आणविक हतियार विकास गर्न सक्ने जोखिम रहेको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका छन् । सम्झौता आगामी दिनमा अमेरिकी कङ्ग्रेसमा पेस गरिने अपेक्षा गरिएको भए पनि त्यसलाई कार्यान्वयनका लागि कङ्ग्रेसको औपचारिक स्वीकृति आवश्यक नपर्ने जनाइएको छ ।
यसैबिच, अमेरिका र इरानबिचको द्वन्द्व चर्किरहेका बेला इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरेबियाका बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएका छन् । सन् २०२२ को युद्धविरामपछि पहिलो पटक गत साता साउदी सेना र हुथी विद्रोहीबिच पुनः गोली हानाहान भएको थियो । फेब्रुअरीको अन्त्यमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेयता क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























