

सङ्खुवासभा, जेठ १४ गते ।पानीको बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो ।
खाँदबारी नगरपालिका–९, सतिघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने उक्त फेरी एक सातादेखि सञ्चालनमा नरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । नदी धमिलो हुनुका साथै बहाव तीव्र बनेपछि फेरी सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ ।
सतिघाटको फेरी भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको छ । पक्की पुल नबनेकाले वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि यहाँ फेरी सञ्चालनमा ल्याइएको थियो ।
सङ्घीय र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट जनही ७५ लाख रुपियाँ तथा षडानन्द नगरपालिकाबाट ५५ लाख रुपियाँ लगानी गरी फेरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
फेरी बन्द भएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई आवतजावत तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । वर्षायाममा नदीमा पानी बढेपछि फेरी पूर्णरूपमा बन्द हुने र झोलुङ्गे पुल हुँदै सामान बोक्नुपर्ने बाध्यता रहेको स्थानीय रबिन तामाङले बताउनुभयो ।
उहाँका अनुसार अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रका नागरिकले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । “सडक विस्तार भइरहेको छ तर नदीमा पुल नहुँदा विकासले गति लिन सकेको छैन,” उहाँले भन्नुभयो ।
स्थानीयका अनुसार फेरी वर्षमा करिब छदेखि आठ महिना मात्र नियमित सञ्चालन हुने गरेको छ । हिउँदमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सेवा सञ्चालन भए पनि बर्खामा पटक–पटक अवरुद्ध हुने गरेको छ । फेरीबाट दैनिक १०० भन्दा बढी साना तथा ठुला सवारी साधन आवतजावत गर्ने गरेका छन् ।
फेरीले तत्काल समस्या समाधानमा केही राहत दिए पनि दीर्घकालीन समाधानका लागि सतिघाटमा पक्की पुल निर्माण आवश्यक रहेको नगर प्रमुख उदासले बताउनुभयो । उहाँले पुल निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































