

दैलेख, जेठ ६ गते । बिहानको घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखको नारायण नगरपालिका–४ को धुलाम्मे सडकमा एउटा शरीर बिस्तारै अगाडि बढिरहेको देखिन्छ । पाइला होइन, दुई हातको सहारामा ५० वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढाउनुहुन्छ । जन्मजात शारीरिक अपाङ्गता भएका उहाँलाई घरदेखि विद्यालयसम्मको करिब एक किलोमिटर दुरी पार गर्न दुई घण्टा लाग्छ । बर्सातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ, तर उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न थाकेको महसुस नै गर्नुहुन्न ।
उमेर ढल्कँदै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो । “हातले टेकेर बिहान दुई घण्टा र बेलुका दुई घण्टा हिँड्दा हात नै सुन्निएका हुन्छन्,” उहाँले भन्नुभयो, “उमेर बिस्तारै ढल्कँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ ।” विद्यालयदेखि उहाँको घरसम्म सडक पुगिसकेको छ । तर त्यो सडकमा उहाँका लागि गुड्ने साधन छैन । आर्थिक अभावका कारण चारपाङ्ग्रे स्कुटर किन्ने अवस्था उहाँको छैन । “आधा सहयोग कसैले गरिदिएको भए म आफैँ पनि थपेर स्कुटर किन्थेँ,” उहाँको आशा मिसिएको आवाजमा भन्नुभयो, “हामीलाई कसले सहयोग गर्ला र ?”
शारीरिक कठिनाइबिच पनि उहाँले कक्षा १२ सम्म अध्ययन गर्नुभएको छ । गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढाइबाट वञ्चित भइरहेका थिए । त्यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो । त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्न अभियान सुरु गर्नुभयो । गाउँका बालबालिकालाई जम्मा गरेर आफ्नै पहलमा पढाउन थाल्नुभयो । न तलब थियो, न सरकारी सहयोग । तर शिक्षाप्रतिको भरोसा थियो । लगातार दुई वर्षसम्म उहाँले ८२ जना बालबालिकालाई निःशुल्क पढाउनुभयो । एक्लै सबै विद्यार्थी समालेर पढाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो ।


उहाँको योगदानपछि शिक्षा विकास तथा समन्वय एकाइले उहाँलाई कार्यालय सहयोगी पदमा नियुक्ति दियो । अहिले उहाँ जनकल्याण प्राथामिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्छ । उहाँकै सङ्घर्ष र पहलबाट स्थापना भएको विद्यालयमा अहिले कक्षा ४ सम्म पढाइ सञ्चालन भइरहेको छ । विद्यालयमा उहाँको जिम्मेवारी केवल कार्यालय सहयोगीको मात्र छैन, उहाँ बालबालिकाका लागि दैनिक खाजा–नास्तासमेत पकाउने काम गर्नुहुन्छ । शारीरिक कठिनाइका बाबजुद सकेसम्म उहाँ सबै काम आफैँ गर्ने प्रयास गर्नुहुन्छ ।
हस्तबहादुर कठायतको जीवनमा पीडा थपिँदै गयो । १२ वर्षअघि बुवाको निधन भयो । आमाले पनि संसार छाडेको आठ वर्ष भयो । आमा-बुवाको मृत्यु भएपछि जीवन झन् समस्यामा प¥यो । उहाँले भन्नुभयो, “आमाको साथ हुँदा जीवन केही सहज लाग्थ्यो । अहिले भाइ-बुहारी अलग्गै बस्छन् । धेरैजसो काकाको छोराको घरमा बस्छु । पानी परेन भने घर पनि जान्छु । उमेर हुँदा आफू शारीरिक रूपमा कमजोर छु भनेर विवाहको कुरा गरिनँ ।”
दिनभर विद्यालयको काम सकेर साँझ घर फर्किंदा उहाँका हात फेरि सुन्निएका हुन्छन् । शरीर थाकेको हुन्छ । तर भोलिपल्ट फेरि उही बाटो समात्नुहुन्छ किनकि उहाँका लागि विद्यालय केवल जागिर गर्ने ठाउँ मात्र नभई जीवनको उद्देश्य हो ।
विद्यालयका प्रधानाध्यापक महेन्द्रकुमार शर्माले विद्यालयका कार्यालय सहयोगी कठायतको अभियानले गाउँमा विद्यालय स्थापना हुन सफल भएको बताउनुभयो । उहाँका अनुसार तत्कालीन समयमा बाल-बालिकालाई जम्मा गरेर नपढाएको भए विद्यालयनै खुल्ने थिएन । विद्यालयमा बाल विकासदेखि कक्षा ३ सम्म २३ जना विद्यार्थी अध्ययनरत छन् । अघिल्लो वर्ष कक्षा ४ मा १० जना विद्यार्थी रहेका थिए ।
– कमल शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























