05/20/2026, 14:37:39
बुधबार, जेठ ०६, २०८३

चीन–अमेरिका महसुल सहकार्य


बेइजिङ, जेठ ६ गते । चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार तनावलाई थप नरम बनाउने सङ्केतस्वरूप बेइजिङले वासिङ्टनसँग मिलेर पारस्परिक महसुल कटौतीको प्रक्रिया अघि बढाउने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै सम्पन्न चीन भ्रमणपछि बुधबार सार्वजनिक गरिएको चिनियाँ वाणिज्य मन्त्रालयको विज्ञप्तिमा दुवै देशले अर्बौं डलर बराबरका सामानमा लाग्दै आएको अतिरिक्त महसुल घटाउने दिशामा काम गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच सन् २०२५ भर व्यापारिक प्रतिस्पर्धा चर्किएको थियो । एकअर्कामाथि लगातार महसुल बढाउने क्रमले विश्व बजारमा समेत प्रभाव पारेको थियो । तर गत अक्टोबरमा दक्षिण कोरियामा दुई देशका नेताबीच भएको भेटपछि व्यापार युद्धलाई एक वर्षका लागि रोक्ने सहमति बनेको थियो । त्यसयता सम्बन्ध सुधारका लागि विभिन्न चरणमा वार्ता अघि बढाइएको छ ।

गत साता सम्पन्न शिखर वार्तापछि दुवै देशले संयुक्त व्यापार परिषद् गठन गरेका छन् । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार सो परिषद्को मातहतमा दुवै पक्षले ‘समान स्तरका उत्पादनहरूमा पारस्परिक महसुल कटौतीका लागि ढाँचागत व्यवस्था’ तयार गर्ने विषयमा सैद्धान्तिक सहमति जनाएका छन् । मन्त्रालयले यसलाई व्यापारिक सम्बन्धलाई स्थिर बनाउने महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ ।

वाणिज्य मन्त्रालयका एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै जारी गरिएको अनलाइन विज्ञप्तिमा प्रस्तावित महसुल कटौतीबाट दुवै पक्षका कम्तीमा ३० अर्ब डलर मूल्य बराबरका सामान प्रभावित हुने जनाइएको छ । यसले औद्योगिक सामग्रीदेखि उपभोग्य वस्तुसम्मका विभिन्न उत्पादनमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

चीनले वार्ताका क्रममा अमेरिकाले गरेका प्रतिबद्धता कार्यान्वयन हुने अपेक्षा पनि व्यक्त गरेको छ । बेइजिङले गत वर्ष भएको व्यापार युद्धविराम सम्झौतालाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुवै पक्षबीच सहकार्य निरन्तर रहनुपर्ने जनाएको छ ।

द्विपक्षीय सम्बन्ध सुधारको अर्को सङ्केतस्वरूप चीनले केही अमेरिकी गोमांस निर्यातकहरूको दर्ता पुनस्र्थापना गरेको जानकारी पनि दिएको छ । व्यापार तनाव उत्कर्षमा पुगेपछि ती कम्पनीहरूमाथि प्रतिबन्ध लगाइएको थियो । अहिले पुनः अनुमति दिइनुलाई कृषि व्यापार सहज बनाउने प्रयासका रूपमा हेरिएको छ ।

यसैबीच, सी–ट्रम्प शिखर सम्मेलनको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा चीनले अमेरिकी वायुयान निर्माण कम्पनी बोइङबाट २०० वटा विमान खरिद गर्ने निर्णय पुष्टि गरेको छ । यद्यपि कुन नमूनाका विमान खरिद गरिने भन्नेबारे स्पष्ट पारिएको छैन ।

अमेरिकी सञ्चारमाध्यमहरूले पछिल्ला केही महिनादेखि चीनले बोइङसँग ठूलो परिमाणमा विमान खरिद सम्झौता गर्ने तयारी गरिरहेको समाचार प्रकाशित गर्दै आएका थिए । ती विवरणअनुसार सम्भावित अर्डरमा ५०० वटा एकल–मार्ग ७३७ म्याक्स विमान, साथै करिब १०० वटा ७८७ ड्रिमलाइनर र ७७७ शृङ्खलाका ठूला विमान समावेश हुन सक्ने बताइएको थियो ।

दुर्लभ पृथ्वी खनिजको आपूर्ति र निर्यात नियन्त्रणसम्बन्धी संवेदनशील विषयमा भने बुधबारको विज्ञप्तिमा धेरै विवरण दिइएको छैन । चीनले गत वर्षदेखि यस्ता महत्त्वपूर्ण खनिजमा निर्यात प्रतिबन्ध कडा बनाएको थियो, जसले विश्व प्रविधि तथा रक्षा उद्योगलाई समेत असर पारेको थियो ।

यस विषयमा मन्त्रालयले ‘दुवै पक्षले एकअर्काका वैध र कानूनी चासोहरूको अध्ययन तथा समाधानका लागि संयुक्त रूपमा काम गर्नेछन्’ मात्र भनेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..