05/16/2026, 19:52:26
शनिबार, जेठ ०२, २०८३

बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ


ढाका, जेठ २ गते । बङ्गलादेशको आतङ्कवाद विरोधी प्रहरीले विमानस्थल, संसद र धार्मिक स्थललाई लक्षित गरी आक्रमण गर्ने चेतावनीपछि गत महिना सुरु भएको खोज तलासीका क्रममा पक्राउ परेका एक पूर्व सैनिकमाथि सोधपुछ सुरू गरेको छ ।

पूर्व सैनिक मोहम्मद राहद हुसेन महेदलाई भारतीय सीमा नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उत्तरपूर्वी जिल्लाको मौलभीबजारस्थित प्रहरी चौकीका प्रमुख मोहम्मद मोनिरुज्जमानले बताउनुभयो । प्रतिआतंकवाद अधिकारीले २३ बर्षीय महेदलाई सोधपुछ भइरहेको र उहाँ कट्टरपन्थी इस्लामिक समूहसँग जोडिएको बङ्गलादेश प्रहरीले बताएको छ ।

पक्राउ परेका व्यक्ति बर्खास्त सेनाका सदस्य हुन् र उनी प्रतिबन्धित सङ्गठन दौलतुल इस्लाम नियो-जेएमबीको विचारधाराबाट प्रेरित थिए,” प्रहरीले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ । अप्रिलको अन्त्यमा प्रहरीले सम्भावित आक्रमणको चेतावनी दिएपछि विमानस्थलको सुरक्षा कडा पारेको थियो, र त्यसबेलादेखि खोजी जारी थियो ।

प्रहरीका अनुसार ती व्यक्तिले ‘धारिलो हतियार, बन्दुक वा विस्फोटक पदार्थ’ प्रयोग गरेर विमानस्थल, संसद् र धार्मिक स्थल लगायत प्रमुख प्रतिष्ठानमा आक्रमण गर्न सक्ने चेतावनी दिएको बताइएको छ । बङ्गलादेश समय–समयमा अल-कायदा र इस्लामिक स्टेट समूहबाट प्रेरित घरेलु लडाकू समूहको निशानामा पर्ने गरेको छ ।

यस्तै, घटनामा सन् २०१६ मा ढाकामा एक बेकरीमा भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो । सोही समयमा अल-कायदासँग सम्बन्धित लडाकुले बङ्गलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयसहित धेरै धर्मनिरपेक्ष लेखक र कार्यकर्ताको हत्या गरेका थिए । सन् २०२१ मा एक धर्मनिरपेक्षवादी ‘ब्लगर’को हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..