05/15/2026, 16:10:09
शुक्रबार, जेठ ०१, २०८३

गुगलले अब नयाँ एकाउन्टलाई केवल ५ जिबी मात्र उपलब्ध गराउने गरी परीक्षण सुरु


काठमाडौँ, जेठ १ गते । गुगलले आफ्ना नयाँ प्रयोगकर्ताहरूका लागि उपलब्ध गराउँदै आएको निःशुल्क क्लाउड स्टोरेजको सीमामा भारी कटौती गर्ने तयारी गरेको छ। लामो समयदेखि १५ जिबी निःशुल्क स्टोरेज दिँदै आएको गुगलले अब नयाँ प्रयोगकर्ताहरूलाई केवल ५ जिबी मात्र उपलब्ध गराउने गरी परीक्षण सुरु गरेको छ।

स्रोतहरूका अनुसार, गुगलले आफ्नो नीतिमा परिवर्तन गर्दै नयाँ प्रयोगकर्ताका लागि निःशुल्क स्टोरेजको सीमा ५ जिबीमा सीमित गरेको छ। यो कदमसँगै गुगल अब एप्पल र माइक्रोसफ्ट जस्ता अन्य समकालीन कम्पनीहरूको हाराहारीमा पुगेको छ, जसले पहिलेदेखि नै ५ जिबी मात्र निःशुल्क स्टोरेज दिँदै आएका छन्।

यद्यपि, प्रयोगकर्ताहरूले अझै पनि १५ जिबी स्टोरेज प्राप्त गर्न सक्छन् । यसका लागि प्रयोगकर्ताले आफ्नो गुगल एकाउन्टमा अनिवार्य रूपमा आफ्नो फोन नम्बर लिङ्क गर्नुपर्नेछ।

गुगलका अनुसार यो नीति प्रयोगकर्ताको सेक्युरिटी अपग्रेड गर्न र ‘टु-स्टेप भेरिफिकेसन’ जस्ता सुविधाहरूलाई प्रोत्साहन गर्न ल्याइएको हो। तर, विश्लेषकहरूले भने यसलाई कम्पनीले प्रयोगकर्ताको थप व्यक्तिगत डाटा संकलन गर्ने र चाँडै ‘गुगल वन’ को स-शुल्क ग्राहक बन्न बाध्य पार्ने रणनीतिको रूपमा हेरेका छन्। १५ जिबी स्टोरेज पनि आजकलका हाई-रिजोलुसन फोटो र ठूला फाइलहरूका कारण चाँडै भरिने हुँदा ५ जिबी त झनै छोटो समयमा समाप्त हुने निश्चित छ।

गुगलले यो नयाँ नीति अहिलेका लागि केही निश्चित क्षेत्रहरूमा मात्र परीक्षणको रूपमा लागू गरिएको पुष्टि गरेको छ। यो नियम विश्वभर कहिलेदेखि पूर्ण रूपमा लागू हुनेछ वा हुनेछैन भन्नेबारे कम्पनीले आधिकारिक घोषणा गरिसकेको छैन। सन् २०२६ को फेब्रुअरी र मार्चको बीचमा यो नीतिगत परिवर्तन सुरु भएको पाइएको छ।