

न्यूयोर्क (अमेरिका), ३० वैशाख । न्यूयोर्कको म्यानह्याटन आगामी जेठ ३ गते ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ । म्यानह्याटनमा नेपाली पहिचान र संस्कृति झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
परेडको सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले जानकारी दिए । म्यानह्याटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड २५ स्ट्रिटमा पुगेर सम्पन्न हुनेछ ।
एनआरएनए न्यूयोर्क च्याप्टर, आदिवासी जनजाति महासङ्घ नेपाल, अमेरिका (फिप्ना) लगायत विभिन्न सङ्घ–संस्थाहरुको संयुक्त आयोजनामा परेड हुन लागेको हो । न्यूयोर्कमा विगत १० वर्षदेखि नेपाल डे परेड आयोजना हुँदै आएको छ । पहिलो पटक सन् २०१६ मा परेड आयोजना गरिएको अध्यक्ष लामिछानेको भनाइ छ ।
विश्वको आर्थिक राजधानीमा नेपाली कला, साहित्य, गीत, सङ्गीत तथा वेषभूषा प्रदर्शनमार्फत नेपाली पहिचान र संस्कृतिको प्रवर्द्धन गर्नु परेको उद्देश्य हो । विदेशीलाई नेपालको कला–संस्कृति देखाएर नेपाल घुम्न जान आकर्षित गर्न सकिने विश्वास आयोजकको छ । न्यूयोर्क विश्वका सबैभन्दा धेरै डलर अर्बपति (बिलेनियर) बसोबास गर्ने सहर हो ।
यस वर्षको कार्यक्रममा करिब ५० सङ्घ–संस्थाको सहभागिता रहने छ । हरेक सङ्घसंस्थाबाट पाँच जनाका दरले स्वयंसेवक परिचालन गरिनेछ । यस वर्ष करिब पाँच हजार नेपालीहरुको सहभागिता रहने अपेक्षा रहेको फिप्नाका अध्यक्ष एपी लामा शेर्पाले बताए । उनले भने, “परेडमा सहभागी झाँकीहरु २५ स्ट्रिटमा पुगेर सकिनेछन्, समापनस्थलमा तयार पारिएको स्टेजमा सांस्कृतिक कार्यक्रममा सीमित व्यक्ति मात्रै सहभागी हुनेछन् ।”
नेपालल डे परेड म्यानह्याटनको २८ स्ट्रिट, म्याडिसन एभेन्यूबाट सुरु हुनेछ । आयोजकका अनुसार ३८ स्ट्रिटको पार्क एभेन्यूदेखि फिप्थ एभेन्यूसम्म पूरै सडक बन्द गरिने छ । सहभागीलाई ११ बजेदेखि जम्मा हुन आह्वान गरिएको छ । त्यहाँबाट दिउँसो एक बजे परेड निस्कनेछ ।
आयोजक समितिका आर्थिक संयोजक कृष्ण लामिछानेले परेड आयोजनामा ३८ देखि ४० हजार अमेरिकी डलर खर्च हुने अनुमान रहेको बताए । अहिलेसम्म विभिन्न व्यवसायी, सङ्घसंस्था र व्यक्तिबाट करिब ३३ हजार डलरको प्रतिबद्धता आइसकेको उनको भनाइ छ । परेडमा सहभागी हुने दुई हजारभन्दा बढीको बिमा गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































