काठमाडौँ, वैशाख २८ गते । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको उडान टीके–७२६ मा अवतरणपछि धुवाँ देखिएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई आकस्मिक रूपमा विमानबाट बाहिर निकालिएको थियो । यस घटनाको प्रारम्भिक अनुसन्धानले विमानको हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण धुवाँ उत्पन्न भएको जनाएको छ ।
टर्किस एयरलायन्सको काठमान्डौं कार्यालयले पठाएको इमेल अनुसार, टीसी–जेएनपी रजिष्टर नम्बर दर्ता भएको एयरबस ए३३० विमानले काठमाडौंमा सामान्य रूपमा अवतरण गरेको थियो। तर, ट्याक्सी गर्ने क्रममा ल्यान्डिङ गियरबाट धुवाँ निस्किएको देखिएपछि टावरमा रहेका एयर ट्राफिक कन्ट्रोल (एटीसी) को निर्देशनमा सावधानीस्वरूप यात्रुहरूलाई आपत्कालीन स्लाइडमार्फत् बाहिर निकालिएको थियो।
विमानको दायाँ मुख्य ल्यान्डिङ गियरको टायरमा आगो लागेको (टायर अन फायर) थियो। उक्त आगो विमानस्थलमा रहेको रेस्क्यू एन्ड फायर फाइटीङ जिभिजनले नियन्त्रणमा लिएको थियो ।
टर्किस एयरलाइन्सका प्रवक्ता यह्या उस्तुनले सामाजिक सञ्जाल एक्समार्फत् दिएको जानकारीमा उद्धार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको बताएका छन्।
एयरलाइन्सले काठमान्डौंबाट उड्नु पर्ने प्रभावित २ सय ७९ यात्रुहरूका लागि फर्किने उडानका निम्ति अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ। साथै, प्राधिकृत प्राविधिक टोलीले विमानको विस्तृत प्राविधिक परीक्षण सुरु गरिसकेको छ।
टर्किस एयरलायन्सको घटनापछि सोमबार बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा करिब डेढ घन्टापछि सञ्चालनमा आएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार टर्किसको जहाजको दायाँतर्फको मुख्य ल्यान्डिङ गियरमा आगो लागेपछि विमानस्थल बिहान ६ :३४ बजे बन्द गरिएको थियो भने ८ :१२ बजेसम्म उडान बन्द गरीएको बताएका थिए ।
घटनाका क्रममा टर्किस एयरलायन्सको वाइडबडी विमान ट्याक्सी-वे ‘ब्राभो’ मा अड्किएको थियो। विमानको करिब ३० प्रतिशत भाग ट्याक्सी-वेमा र बाँकी ७० प्रतिशत भाग रनवेमा रहेका कारण सम्पूर्ण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र विमानस्थल सञ्चालन रोक्नुपरेको थियो।
उक्त विमानमा कुल २८८ जना सवार थिए। जसमा २७३ यात्रु, ११ चालकदलका सदस्य र ४ शिशु थिए ।
– सुरज कुँवर
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































