काठमाडौँ, वैशाख २७ गते । शनिबार बिहान १० बजेर २४ मिनेटमा प्रधानमन्त्री वालेन्द्र शाहको फेसबुक पेजबाट एउटा तस्बिर सार्वजनिक भयो । सेतो सर्ट, धर्के डिजाइनको पाइन्ट, सेतो जुत्ता र कालो सनग्लास (चस्मा) लगाएर उनी कुर्सीमा बसेका थिए । टिकटकमा पनि उनले त्यही पहिरनमा सजिएको भिडियो सार्वजनिक गरे । उनको यो फोटो र भिडियो छिनभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो । फेसबुकमा सेयर हुन थाल्यो, इन्स्टाग्राम स्टोरीमा पुग्यो, टिकटकमा भिडियो बन्न थाले, मिम पनि बन्न थाले । कतिपयले त एआई प्रयोग गरेर बालेनको आउटफिटमा आफ्नो तस्विर बनाए ।
र्याप गायक, सिभिल इन्जिनियर हुँदै राजनीतिमा आएका बालेन्द्र शाह यसअघि पनि पहिरनका कारण चर्चामा आइरहन्थे । २०७९ मा काठमाडौं महानगरपालिकाको मेयर बन्ने तयारी गरिरहँदा पनि उनी अक्सर कालो चश्मामा कालै रंगको टिसर्ट र कालो व्लेजर्सका साथ देखिन्थे । उनी यही पहिरनका कारण पनि फरक देखिन्थे । कतिसम्म भने मेयर बनिसकेपछि पनि उनी फरक देखिएनन् । औपचारिक होस कि अनौपचारिक अक्सर दुवै कार्यक्रममा उनी यही पहिरनमा देखिन्थे । कहिलेकाही भने उनी दौरासुरुवालमा समेत देखिए । तर त्यो पनि नेवारी शैलीमा कालै रंगको थियो ।


प्रधानमन्त्रीको उम्मेदवारी दिनेदेखि चुनावी अभियानका क्रममा भने उनको पहिरनमा केही परिवर्तन देखियो । चितवनमा आयोजित चुनावी सभामा भने उनी सेतो सर्ट, भोटो र जिन्स पाइन्टमा देखिए । यो लुक्सको पनि त्यतिबेला सामाजिक संजालमा चर्चा भएको थियो । गत चैत १३ प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा समेत उनले पहिरन पहिचान बदल्न चाहेनन् । कालो दौरा–सुरुवाल, माथि कालो कोट र आँखामा कालो सनग्लास लगाएर उनले शपथ लिए ।
पछिल्लो आउटफिट भने उनका फ्यानहरुका लागि नितान्त नयाँ थियो । जसबारे सामाजिक संजालमा चर्चा/परिचर्चा र गसिप सुरु भएको छ । जस्तो कि, फेसबुक प्रयोगकर्ता गोविन्द क्षेत्रीले वालेन्द्रसँगै बसेको फोटो पोस्ट गर्दै लेखे – ‘के सारो हृयान्डसम हुनुभएको हो दाजु ।’
अर्की प्रयोगकर्ता सबिना ढकालले वालेन्द्रको जस्तै दुरुस्त कपडा लगाएको फोटो हाल्दै क्याप्सनमा लेखिन, ‘बालेन सरले मसगँको फोटो राख्न बिर्सिनुभएछ ।’
बालेन शाह फ्यान फेसबुक पेजमा उनले लगाएका सर्ट, पाइन्ट ,चस्मा र जुत्ताको मूल्य सूची नै राखिएको छ । कोरियन मूल्यसूचीसहितको पोस्टमा ‘टोटल आउटफिट प्राइज’ भन्दै पहिरनको कुल मूल्य ४ लाख १० हजार ५ सय हुने उल्लेख गरिएको छ । त्यस अनुसार उनको पहिरनको नेपाली मूल्य करिब ४३ हजार रुपैयाँ पर्ने देखिन्छ । जसमा सर्ट, पाइन्ट, जुत्ता, सनग्लासदेखि मोजासम्मको मूल्य तोकिएको छ । यस्तै काम कैयन अनलाइन सपहरुले गरेका छन्, जसमा बालेनको यही तस्विर छ अनि प्रत्येक कपडाको मूल्यसूची र अन्तिममा कूल मूल्य सूची ।


बालेनको नयाँ शैली टिकटकमा पनि फैलिएकै छ । स्लो–मोसन भिडियो, ट्रेन्डिङ गीत र विभिन्न फिल्टरसँग राखेर कैयन भिडियोहरू पोस्ट भएका छन् । कतिपयले वालेन्द्रको हाउभाउ नक्कल गरेका छन् भने कतिले उस्तै कपडा लगाएर भिडियो पोस्ट गरे । उनले लगाएको सेतो स्निकर जुत्ता पनि चर्चामा छ । सामाजिक सञ्जालमा कतिपय प्रयोगकर्ताहरूले जुत्ताको मूल्य खोजीरहेका छन् । टिकटकमा भने कतिपयले भिडियो नै बनाएर का भिडियोहरु जुत्ताको मूल्यको चर्चा गर्दै ‘बालेनको जुत्ता कति पर्छ ?’ ‘प्रधानमन्त्रीको भाइरल स्निकर’ ‘सस्तो जुत्ताले महँगो भाइब्स’ लगायतका क्याप्सनसहित भिडियोहरु बन्न थाले ।
कतिपय टिकटक प्रयोगकर्ताहरुले जुत्ताको मूल्य १२ सय रहेको भन्दै भिडियो समेत बनाएका छन् । टिकटक प्रयोगकर्ता लीलाले आफूले प्रयोग गरिरहेको उस्तै ब्रान्डको जुत्ता देखाउँदै भिडियो बनाइन् । भिडियोमा उनले भनेकी छन्, ‘यो जुत्ता भाइरल भइरहेको छ किनकि बालेनले लगाएको फोटो हाल्नुभएको रहेछ । उहाँ त एकदम सिम्पल हुनुहुँदो रहेछ । यो जुत्ता लगाउन प्रधानमन्त्री हुनुपर्दैन ।’
क्याप्सन नलेखेकोमा पनि उनका फ्यानहरुको प्रतिक्रिया थियो । उनको फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘नबोले पनि केही त लेख्नुपर्दछ नि ?’


सामाजिक सञ्जालमा मात्र नभई पसलहरुमा पनि उनले लगाएको पहिरन खोज्दै ग्राहकहरु आइपुग्ने गरेको भन्दै पोसाक व्यापारीहरुले भिडियो अपलोड भइरहेका छन् । उजेली दर्पण नामक प्रयोगकर्ताले अपलोड गरेको भिडियोमा प्रधानमन्त्रीब बालेन्द्रको नयाँ लुकको फोटो देखाउँदै माग बढेको बताएका छन् । उनी जस्तै अरु व्यापारीहरुले पनि ‘बालेनको जस्तै लुगा यहाँ पाइन्छ’ भनेर भिडियोहरु पोस्ट गरिरहेका छन् ।
बानेश्वरमा श्रीनगर फेन्सी चलाइरहेका अर्जुन घिमिरले पनि प्रधानमन्त्री बालेन्द्रको नयाँ आउटफिटबारे सामाजिक संजालबाटै चर्चा भइरहेको थाह पाए । प्रधानमन्त्रीले लगाएको कपडाको खोजी गर्ने ग्राहकहरु पनि उनले सामाजिक संजालमै भेटे । यही चर्चा देखेर उनले बालेन्द्रले लगाएकै जस्तो देखिने ट्रयाक किन्न आइतबार बिहानै न्यूरोडको थोक पसलमा पुगे । कपडाको क्वालिटीहेरी ८ सय देखि १५ सयसम्म पर्ने ट्रयाक ल्याएको बताउँदै उनले सुनाए, ‘सामाजिक संजालमा चर्चा देखेर ल्याएको हो । हेरम कस्तो व्यापार हुन्छ ?‘
– प्रकृति दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































