05/09/2026, 15:49:13
शनिबार, बैशाख २६, २०८३

ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिबद्ध छ : प्रमुख महर्जन


काठमाडौँ, वैशाख २६ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित ‘अन्तर्राष्ट्रिय सिम्पोजियम’ लाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको हो ।

प्रमुख महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवित अवस्थामै रथारोहण गराएको, उहाँको नाममा सिक्का र हुलाक टिकट प्रकाशन गरेको तथा सुरक्षा र यातायातको प्रबन्ध मिलाएको स्मरण गर्दै ती कार्यहरू ज्येष्ठ नागरिक सम्मानको प्रस्थान विन्दु भएको बताउनुभयो ।

त्यसैगरी, हालै मात्र महानगरपालिकाले १०५ वर्षीया मनोमाया महर्जनको पाँचौँ ‘जङ्कु’ (रथारोहण) सम्पन्न गरेको जानकारी दिनुभयो ।

महानगरले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरेका अन्य कल्याणकारी योजनाबारे प्रकाश पार्दै उहाँले वार्षिक १० हजार रुपियाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

प्रमुख महर्जनले भन्नुभयो, “नेपालको इतिहासमा सायद पहिलो पटक पाँचौँ जङ्कुको व्यवस्थापन महानगरले गरेको छ । यसले हाम्रो संस्कृति र जेष्ठ नागरिकप्रतिको श्रद्धा झल्काउँछ । जसरी मनमोहन अधिकारीले आफ्नो कार्यकालमा १०० रुपियाँबाट सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्नुभयो, त्यसरी नै हामीले जेष्ठ नागरिकलाई दशैँतिहार खर्चका रूपमा वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आएका छौँ ।

स्वास्थ्य क्षेत्रतर्फ महानगरले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी निमोनिया विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन थालेको महर्जनले बताउनुभयो । निमोनियाको खोप महँगो भएपनि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि यो अभियान प्रभावकारी रूपमा अगाडि बढिरहेको उहाँको दाबी छ ।

यसका साथै, जावलाखेलमा हुने प्रसिद्ध भोटो जात्रा अवलोकनका लागि जङ्कु गरिसकेका ज्येष्ठ नागरिकलाई विशिष्ट अतिथिका रूपमा विशेष दीर्घाको व्यवस्था समेत गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।