05/05/2026, 19:04:07
मङ्गलबार, बैशाख २२, २०८३

गाजामा स्वास्थ्य पुनस्थापना प्रणाली कमजोर, अन्तर्राष्ट्रिय सहयोगको अपिल


संयुक्त राष्ट्रसङ्घ, वैशाख २२ गते । गाजामा घाइते बिरामीका लागि पुनस्थापना सेवामा गम्भिर अभाव देखिएको भन्दै मानवीय निकायले चिन्ता व्यक्त गरेका छन् । मानवीय समन्वय सम्बन्धी निकायका अनुसार गाजामा ६ हजार ६०० भन्दा बढी बालबालिका रहेका छन् ।

सन् २०२३ को अक्टोबर यता हजारौं व्यक्ति गम्भिररूपमा प्रभावित भएका छन्, तर हाल त्यहाँ केवल आठ जना प्राविधिक मात्र उपलब्ध रहेका छन् । विशेषज्ञको अभाव र आवश्यक सामग्रीको सीमित आपूर्तिका कारण वर्तमान आवश्यकतालाई पूरा गर्न कम्तीमा पाँच वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक टम फ्लेचरका अनुसार गाजामा सहयोग कार्य निरन्तर जारी रहेको छ, जसले जीवन जोगाउन, अनिकाल रोक्न तथा आधारभूत सेवा पुनः स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । तथापि, अझ धेरै प्रयास आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । मानवीय साझेदारले झण्डै ४ हजार ५०० घरपरिवारलाई त्रिपाल, ओछ्यान तथा अन्य आवश्यक सामग्री वितरण गरेका छन् ।

खान युनिस क्षेत्रमा उपलब्ध सामग्री प्रयोग गरी अस्थायी आश्रय निर्माण गरिएको छ, जसलाई आवश्यक सामग्री उपलब्ध भएपछि थप सुदृढ बनाउन सकिने जनाइएको छ । स्वास्थ्य क्षेत्रका निकायले कीरा तथा मुसाका कारण छाला सम्बन्धी रोगलगायत अन्य स्वास्थ्य समस्या बढ्न सक्ने जोखिमप्रति पनि ध्यानाकर्षण गराएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..