04/28/2026, 21:33:36
मङ्गलबार, बैशाख १५, २०८३

परम्परागत विचारधारा बोक्ने फिल्म ‘परालको आगो’


काठमाडौँ, वैशाख १५ गते । बुढाबुढीको झगडा – परालको आगो ।  कथाकार गुरूप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’को सग्लो सन्देश यही हो । पती पत्नीबीचको सम्बन्धलाई यो कथामा परालको आगोसँग दाँजिएको छ । परालले जति छिटो आगो टिप्छ, आगो त्यही गतिमा निभ्छ । अर्थात् एकैछिन ह्वारह्वार्ती बले पनि परालको आगो केहीबेर मात्रै रहन्छ । भन्नुको अर्थ पति-पत्नीबीच जति चर्काचर्की परे पनि, झगडा भए पनि आखिरमा यो आगो केही बेरका लागि मात्रै हो । केही छिनमै निभ्ने आक्रोश, रिस रागपछि अन्तमा उनीहरु मिलेरै बस्छन् ! भन्ने भाष्य फिल्म ‘परालको आगो‘ले पनि समाएको छ ।

दाम्पत्य जीवनलाई सन्तुलित बनाउन गुरूको यो कृति लामो समय गुरुमन्त्रजसरी जपियो । दाम्पत्य जीवनको आरोह र अवरोह बुझाउन कथाको यही सार उपयुक्त देखिन्छ पनि । दाम्पत्य जीवनबीचको अस्थायी र क्षणिक विवाद साम्य बनाउन यो युक्ति सार्थक लाग्न सक्ला । तर, प्रश्न यो हो – तपाईं फिल्ममार्फत कस्तो भाष्य स्थापना गर्न खोज्दै हुनुहुन्छ ?

सोच्नुस्, पतिले तपाईंको घुच्चुक समाउँदै लछारपछार गर्छ । बोक्दै गरेको घैलालालाई लात्तीले हानेर तपाईंमाथि प्रहार गर्छ । अनि तथानाम गाली गरेर घिसार्दै तपाईंलाई गलहत्त्याउँछ । तपाईं रिसाएर माइती जानुहुन्छ । अनि पति तपाईंलाई फकाउन आइपुग्छन्, त्यो पनि आफ्नो रिस मथ्थर भएपछि । तपाईंलाई अपमानित गरेको, हिंसा गरेको विषयलाई प्रेमको संज्ञा दिँदै बलिन्द्र आँसु झारेर माफी माग्छ । अनि आफ्नो दाम्पत्य जीवन जोगाउन विषाक्त पुरुषत्त्वसहितको हिंसात्मक पतिलाई तपाईंले माफी दिनुपर्छ । किन ? बुढाबुढीको झगडा – परालको आगो । लक्ष्मण सुनार निर्देशित यो फिल्मले भन्न खोजेको यही हो । यस्तो पुरातनवादी सन्देश बोकेको फिल्ममा दर्शकले आफूलाई कसरी समानुभूत गरुन् ?

कुनै उपन्यास अथवा किताबमाथि यसअघि फिल्म नबनेका होइनन् । किताबहरुमाथि यसअघि थुप्रै फिल्म बनेका छन् । चर्चित कथाहरुमाथि बनेका फिल्मको सूची पनि लामै छ । नेपालमै पनि धेरैले वर्षौंअघिको समय कल्पँदै क्लासिक कथामाथि फिल्म बने । तर, प्रश्न उठ्छ तपाईं कस्तो कथा भन्दै हुनुहुन्छ ? हुन त निर्देशकले जुनै समय, कालखण्डको कथालाई सुनाउन पाउँछन् । पुरानो समय देखाउँदै त्यतिबेलाको अवस्था देखाउन सक्छन् । तर, परम्परागत विचारसहितको फिल्ममा ‍दर्शकले भेट्छन् कि भेट्दैनन् ? समाज सुहाउँदो विचार भएकै कारण यो फिल्ममा दर्शकले आफूलाई पाउँदैनन्, भेट्दैनन् । त्यसमाथि यो फिल्मले घरेलु हिंसालाई जसरी सामान्यीकरण गर्न खोजेको छ त्यो भाष्य डरलाग्दो छ ।

निर्देशक सुनारले यो फिल्ममा पति-पत्नीबीचको झगडा देखाउँदै घरेलु हिंसालाई सामान्यीकरण गर्ने विचारलाई प्रश्रय दिएका छन् । फिल्मले पत्नीमाथि घरेलु हिंसा गर्ने, तथानाम बोल्ने पतिहरुलाई पत्नीले माफी दिनुपर्छ भन्ने भाष्य बोकेको छ । गुरुले त्यो बेला कल्पेका चर्चित पात्रहरु चामे (प्रकाश सपुत) र गौंथली (सुहाना थापा) लाई मुख्य पात्रका रुपमा उभ्याउँदै यो फिल्मले यस्तो विचारधारा पस्केको हो ।

लामो समयको चर्काचर्की, ठुस्काठुस्कीपछि पत्नीलाई घर फिर्ता ल्याउन सफल भएका चामेलाई हेर्दै एउटा दृश्यमा जुठे (सौगात मल्ल) की पत्नी सुन्तली (सिर्जना अधिकारी) ले पति-पत्नी अन्तमा मिलेरै बस्नुपर्ने विचार राख्छिन् । ‘जोईपोई भन्या यस्तै त हो नि बहिनी, कहिले झगडा कहिले माया । फेरि झगडा परेर उतिनै खेर माया पलाइहाल्छ,’ जुठेले चामे र गौंथलीतर्फ हेर्दै यस्तो भन्छन् । त्यसमै सुन्तली थप्छिन्, ‘त्यही भएर त भन्या नि, बुढाबुढीको झगडा परालको आगो ।

तर, के अबका गौंथलीहरु फिल्ममा देखाइएको गौंथलीझैं हिंसालाई सहेर मात्रै बस्छन् ? हिंसा गर्नेहरुलाई सहजै माफ दिन्छन् ? अहिलेका महिलाहरु आफूमाथि भएको हिंसाको प्रतिकार गर्छन् । आफ्नो लागि आवाज उठाउन सक्छन् । न्यायलयको ढोका ढकढकाउँछन्, माइतिघरमा धर्ना बस्छन् । वर्तमान समाजमा पति पत्नीकै समन्बन्धका आयाम फेरिसक्यो । लैङ्गिक समानताको जगमा यो सम्बन्ध उभिसक्यो । यस्तो अवस्थामा उही पुरानो विचार फिल्ममार्फत स्थापित गर्नु फिल्म ‘परालको आगो‘ को कमजोर पक्ष हो ।

तर, यो फिल्ममा कमजोरी मात्रै छ भन्ने पनि होइन । संकल्प भुजेलको सिनेमेटोग्राफीले कथाको समयतिरै दर्शकलाई पुर्‍याउने प्रयास भएको छ । फिल्ममा गाउँदेखि हिमालका सुन्दर दृश्य समेटिएका छन् । बित्दै गएको समय देखाउन, हिमालका ‘टाइमल्याप्स‘ खिचिएका छन् । पुरानो कालखण्डमा पुर्‍याउने सिनेमेटोग्राफीले धेरै समय दर्शकको ध्यान तान्ने कोसिस भएको छ । तर, दर्शक बाँध्ने सिनेमेटोग्राफीले मात्रै होइन, कथा वाचन र यसले समाएको भाष्यले हो । फिल्ममा चामे र गौंथलीबीचको प्रेम अझ मज्जाले देखाइएको भए, उनीहरुको सम्बन्धमा आउने आरोह -अवरोहले अर्थ राख्थ्यो । तर, केही दृश्यमै उनीहरुको प्रेम देखाउँदै उनीहरुबीचको झगमाथि पूरा समय खर्चँदा पनि दर्शकको ध्यान ‘परालको आगो‘ ले तान्दैन ।

लामो समय नेपाली फिल्मले महिलाहरुलाई सहनशील, पतिव्रता अनि शान्त देखाइरह्यो । दबिएको, हेपिएको अनि आवाजविहीन देखाइरह्यो । आफ्नो सुरक्षा आफैं गर्न नसक्ने देखाइरह्यो, त्यसैले नेपाली फिल्ममा ‘हिरो’हरुको बिगबिगी भयो । तर, समयसँगै फिल्म निर्माण अनि यसले समाउने भाष्य परिवर्तन हुँदै आएको छ । आफ्नो सुरक्षा आफैँ गर्न सक्ने महिलाहरुलाई पनि फिल्ममा देखाइएको छ । यस्तो अवस्थामा पुरातनवादी विचारधारालाई अभ्यास गर्नु त त्यही समयतिर बन्ने फिल्महरुको भीडमा मिसिनु मात्रै हो । अबका गौंथलीहरुले गुँड छोडेर उड्न सिकिसके । उनीहरुलाई अब गुँडमै बस्नुपर्छ, पतिले गरेको हिंसालाई माफ दिनुपर्छ भन्ने भाष्य लाद्नु, पितृसतात्मक सोचलाई मलजल गर्नु हो ।

– रीना मोक्तान