04/28/2026, 15:57:42
मङ्गलबार, बैशाख १५, २०८३

गर्मी बढेसँगै शुक्लाफाँटा निकुञ्जमा सुक्न थाले ताल


महेन्द्रनगर, वैशाख १५ : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या भएको छ । गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरुमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रायः तालहरु गर्मीका कारण सुकिरहेको भएपनि सोलार जडान गरेर पानी भर्ने काम पनि हुन्छ”, निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले भने, ‘निकुञ्जभित्र शिकारी तालबाहेकका तालहरुमा पानीको सतह निकै कम हुँदै गएको छ ।

उनले बाबा ताल, रानी ताल, सालगौडी ताल लगायतका तालहरु सुक्न थालेको बताए । ‘ताल छेउछाउमा जडान गरेका सोलार जङ्गली हात्तीले भत्काइदिने गर्दा समस्या सिर्जना हुन्छ’, सूचना अधिकारी वाग्लेले भने, ‘वन्यजन्तुका लागि पानीको व्यवस्थापनमा धेरै तालहरुमा सोलार प्यानल जडान गरेर पानी भर्दै आएका छौं ।

विश्वमै बाह्रसिङ्गाको दुर्लभ झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरु संरक्षण अभावमा पुरिँदैसमेत गएका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै सङ्कटमा छ ।

निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ताल पुरिँदै गएपनि बजेट अभावका कारण सरसफाइ गर्न सकिएको छैन’, उनले भने, ‘कृत्रिम र प्राकृतिक गरी १२० वटा तालतलैया छन् ।

विश्वमै दुर्लभ दुई हजार ४०० भन्दा बढी बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा ४४ वटा पाटेबाघ रहेको शुक्लाफाँटामा ४३० भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन् । बाघ गणना यस वर्ष सकिएको छभने अहिले निकुञ्जभित्र बाह्रसिङ्गा गणना चलिरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।