

क्यानडा, वैशाख १२ गते । क्यानडाको टोरन्टो सहरमा नेपाली समुदायका लागि एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। यसअघि टोरन्टोका मेयरबाट ‘नेपाली हेरिटेज विक’ का रूपमा प्राप्त औपचारिक स्वीकृतिलाई परिमार्जन गर्दै अब हरेक वर्षको अप्रिल महिनालाई ‘नेपाली हेरिटेज मन्थ’ का रूपमा मनाउने निर्णय गरिएको छ।
टोरन्टो सिटी काउन्सिलले अप्रिल महिनालाई नेपाली सम्पदा महिनाका रूपमा मनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेपछि यसले कानुनी र औपचारिक मान्यता पाएको हो। सिटी काउन्सिलको यो घोषणालाई क्यानडामा बसोबास गर्ने नेपाली समुदायले अत्यन्त गर्वका साथ स्वागत गर्दै ऐतिहासिक उपलब्धिको रूपमा लिएका छन्।
नेपाली समुदायका अगुवाले यस निर्णयप्रति खुसी व्यक्त गर्दै यसले क्यानडाको बहुसांस्कृतिक एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। यो निर्णयले नयाँ पुस्ताका नेपालीलाई आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्न थप प्रेरणा मिल्ने उनीहरूको भनाइ छ।


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यानडाले सिटी काउन्सिलको यो कदम नेपाली समुदायको निरन्तर योगदान र एकताको महत्त्वपूर्ण पहिचान भएको भन्दै आभार प्रकट गरेको छ। समुदायका सदस्यले यो निर्णयले क्यानडामा नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न र नेपाली पहिचानलाई अझ सशक्त बनाउन मद्दत पुग्ने प्रतिक्रिया दिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































