काठमाडौँ, वैशाख ११ गते । सरकारले लामो समयदेखि एकै ठाउँमा कार्यरत कर्मचारीहरूको पहिचान गरेर सरुवा प्रक्रियालाई तीव्रता दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा संकलन गरिएको विवरणअनुसार हजारौं कर्मचारी लामो समयदेखि उपत्यकामा नै कार्यरत रहेको देखिएपछि सरुवा प्रक्रिया अघि बढाइएको हो । हालै सार्वजनिक तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै ४ हजार ४७५ जना कर्मचारी पाँच वर्षदेखि थिए ।
सिंहदरबारभित्रका कार्यालयमा २ वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीको संख्या १ हजार ९३५ थियो । यो समूहमा सचिव, सहसचिव, प्रमुख कन्सल्टेन्ट, जनरल फिजिसियन, सुपरिटेन्डेन्टदेखि कार्यालय सहयोगीसम्म समावेश थिए ।
प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाह थप प्रभावकारी बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ मापदण्ड अघि सारेको छ । कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा सरुवा गर्ने कामलाई मन्त्रालयले तीव्रता दिएको हो । यस क्रममा बिहीबार मात्रै मन्त्रालयले २५ जना सहसचिव सरुवा गरेको छ ।
सहसचिवहरूलाई प्रदेश सचिवदेखि अन्तर-मन्त्रालय सरुवा गरेको छ । कोही भने प्रदेशको जिम्मेवारी निभाएर सिंहदरबार फर्किएको छोटो समयमा प्रदेशमै फर्किएका छन् । एक महिला कर्मचारीले पहिला नै प्रदेशमा जिम्मेवारी सम्हालेपश्चात पुनः प्रदेशमा पठाएको प्रति असन्तुष्टि पोखेकी छन् । उनले सिनियर कर्मचारी भएकै आधारमा सरुवा भएको बताइन् । सिंहदरबार प्रवेश गरेको ९ महिनामा नै प्रदेशमा सरुवा भएको बताइन् । उनले भनिन्, ‘सिनियर भएकै कारण बहिरगर्मनमा परेका छौं, यसमा हामीले असन्तुष्टि जनाएका छौं ।’
नयाँ सरकार आउँदा १५८ स्थानीय तह प्रमुख प्रशासक अधिकृतविहीन थिए । निमित्तको भरमा सञ्चालन भइरहेको ती स्थानीय तहमा मन्त्रालयले पदपूर्तिलाई तीव्रता दिएको थियो । सोहीअनुसार अब जम्मा ८ वटा स्थानीय तहमा मात्रै पदपुर्ति हुन बाँकी छ ।


स्थानीय तहहरूलाई निमित्तको भरमा नछाडिने
निजामती सेवा ऐन २०४९ र नियमावली २०५० ले कर्मचारी सरुवा र बढुवाको व्यवस्था गरेको छ । जसअनुसार वर्षमा एकपटक समयतालिकाअनुसार भौगोलिक आधारमा डेढदेखि दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, काजमा खटाउँदा पनि एक वर्षमा तीन महिनाभन्दा बढी अवधि राख्न नपाइने प्रावधान छ । तर, लामो समयदेखि स्थानीय तहमा पदपूर्ति नहुने, कर्मचारीहरू सुगममा मात्रै बस्ने प्रणालीलाई मन्त्रालयले अब सन्तुलित रुपमा सरुवा गर्ने मापदण्ड बनाएको मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरेले बताए ।
उनका अनुसार स्थानीय तहहरूलाई निमित्तको भरमा नछाड्ने नीतिअनुसार नयाँ सरकार गठनपछि ७५३ स्थानीय तहमध्ये अधिकांशमा दरबन्दीअनुसार कर्मचारी पठाइसकिएको छ । अब ८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन बाँकी रहेको उनले जानकारी दिए । ती स्थानमा पनि छिटै पदपूर्ति हुने उनले जानकारी दिए ।
उनका अनुसार लामो समयसम्म उपत्यका वा सिंहदरबारमै कार्यरत कर्मचारीहरूको तथ्यांकलाई मन्त्रालयले सामान्य प्रशासनिक मापदण्डका रूपमा लिएको छ । उनले कर्मचारीलाई स्थानीय तहमा पठाउँदा बाहिरीअनुभव र कार्यक्षेत्रको विविधता प्रदान गर्ने उद्देश्य पनि रहेको बताए । उनले भने, ‘उनीहरूलाई नयाँ अनुभव र एक्सपोजर मिलोस्, तल्लो तहसम्म सेवा गरुन भनेर सन्तुलित रूपमा सरुवा गरिएको हो ।’
घिमिरेका अनुसार पद रिक्त भएका र आवश्यक स्थानहरूमा मात्र पदपूर्ति भइरहेको छ । सहसचिवहरूको प्रदेश सचिवको दरबन्दी रहेको उल्लेख गर्दै अन्य कर्मचारीलाई प्रदेशमा पठाउने अलग योजना नरहेको स्पष्ट पारे । साथै, काजमा गएका कर्मचारी फर्किएपछि रिक्त हुने स्थानमा पुनः पदपूर्ति गर्ने प्रक्रिया निरन्तर चल्ने उनले बताए ।
संविधान तथा प्रशासनविद् काशीराम दाहालले सुशासन र विकासका लागि राजनीतिक तहमा स्पष्ट नीति र प्रशासनमा व्यवसायिकता तथा दक्षता अनिवार्य हुनुपर्नेमा जोड दिए । उनले प्रशासनिक क्षेत्रमा लामो समयदेखि देखिँदै आएको राजनीतिक हस्तक्षेप, बिचौलियाको प्रभाव र सरुवा–बढुवामा पारदर्शिता अभावले सरुवा प्रणाली प्रभावित भएको बताए ।
उनले भने, ‘विगतमा राजनीति, कर्मचारी प्रशासन र बिचौलियाबीचको अनावश्यक गठबन्धनका कारण प्रणाली प्रभावित भएको छ । स्वार्थका आधारमा काम हुने प्रवृत्तिले गर्दा राम्रा कर्मचारीहरूलाई प्रोत्साहन हुन सकेन । दलीय आधारमा संरक्षण हुने अभ्यासले सरुवा अनुमानयोग्य बन्न सकेन ।’ उनका अनुसार कर्मचारीको सरुवा र बढुवा प्रक्रिया पनि स्पष्ट र अनुमानयोग्य नभएकाले प्रशासनिक स्थायित्व कमजोर बनेको छ ।
उनले सरुवा प्रणालीलाई चक्रिय र नियममा आधारित बनाउन नसक्दा प्रशासनिक दक्षता कमजोर भएको बताए । सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि स्पष्ट नीति, पारदर्शी कार्यान्वयन र राजनीतिक तथा प्रशासनिक तहबीचको भूमिकालाई स्पष्ट रूपमा छुट्याउनु पर्ने आवश्यकता औल्याए ।
– प्रकृति दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































