04/13/2026, 14:03:27
सोमबार, चैत ३०, २०८२

हर्मुजको जलघाँटीमा अमेरिकाले नाकाबन्दी गर्ने ट्रम्पको घोषणा


काठमाडौँ, चैत २९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलघाँटीमा अमेरिकी जलसेनाले तत्कालै नाकाबन्दी गर्ने घोषणा गरेका छन् । पाकिस्तानको इस्लामाबादमा इरानसँगको वार्ता बिना निष्कर्ष सकिएपछि उनले यस्तो घोषणा गरेका हुन् ।

इरानले यहाँ हुँदै आवत–जावत गर्ने जहाजमाथि जर्बजस्ती शुल्क लिइरहेको उनले बताए । ‘मैले हाम्रो जलसेनालाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा इरानलाई टोल कर तिर्ने हरेक जहाजलाई खोज्न र रोक्न निर्देशन दिएको छु । अवैध टोल तिर्ने जो कोहीले पनि समुद्रमा सुरक्षित बाटो पाउने छैन,’  ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथमा लेखे । उनले यस नाकाबन्दीमा अन्य देशहरुले पनि अमेरिकालाई सघाउने दाबी गरे ।

इरानले हर्मुजको जलघाँटीमा राखेका बमहरु अमेरिकाले हटाउने दाबी पनि ट्रम्पले गरे । यसअघि अमेरिकी सेनाको पश्चिम एशिया हेर्ने कमाण्ड सेन्टकमले दुईवटा अमेरिकी विध्वंशक जहाजले हर्मुज पार गरेको दाबी गरेको थियो । इरानको रिभोलुशनरी गार्ड्स कोप्र्स (आइआरजीसी) ले यस दाबी खण्डन गरेको छ ।

शनिबारदेखि इस्लामावादमा सुरु भएको अमेरिका–इरानबीचको प्रत्यक्ष वार्ता आइतबार बिहान बिना निष्कर्ष टुंगिएको थियो । झन्डै २१ घण्टा चलेको यस वार्तामा अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए ।

उनले अमेरिका असल नियतका साथ वार्तामा प्रस्तुत भएपनि इरानलाई आफ्ना मुद्दामा आश्वस्त तुल्याउन असफल भएको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका दौरान पटक–पटक अमेरिकी टोलीको फोनवार्ता भएको पनि उनले बताए ।

इरानले आणविक हतियार महत्वाकांक्षा त्याग्न नखोजेपछि वार्तामा सहमति जुट्न नसकेको आरोप ट्रम्पले लगाएका छन् । ‘यो वार्ता सौहाद्रपूर्ण रह्यो । उनीहरुसँग लगभग सबै विषयमा सहमति जुटेको थियो । तर आणविक महत्वाकांक्षा त्याग्न उनीहरु तयार भएनन् । र, यो विषय हाम्रा लागि प्रमुख थियो । इरानले कहिल्यै पनि आणविक हतियार बनाउनसक्ने छैन,’  ट्रम्पले फक्स न्युजसँग भने ।

इरान–अमेरिकाबीच वार्ता असफल भएपनि नयाँ चरणमा वार्ता हुनसक्ने अपेक्षा गरिएको थियो । किनकी, दुई साता लामो अस्थायी युद्धविरामको समय सकिन अझै १० दिन बाँकी छ । तर, हर्मुजमा अमेरिकी सेनाको प्रवेशले फेरि नयाँ तनाव थपेको छ ।

यसअघि इरानी प्रतिनिधिमण्डलका एक सदस्यले फार्स न्युजसँगको कुराकानीमा अमेरिकाले वार्तालाई बहाना मात्रै बनाएको दाबी गरेका थिए ।

उनले पश्चिम एसियाबाट अमेरिका भाग्न खोजेको दाबी गरेका थिए । हर्मुज जलघाँटीको नियन्त्रण, शान्तिपूर्ण प्रयोजनका लागि आणविक ऊर्जा सम्वद्र्धन र अन्य केही मुद्दामा इरानले आफ्नो अडान राखेको उनले बताएका थिए । उनले अमेरिकासँग अर्को चरणमा वार्ता गर्ने कुनै योजना नरहेको दाबी पनि गरेका थिए ।