काठमाडौँ, चैत २३ गते । इरानले ४५ दिने युद्धविरामको प्रस्ताव अस्विकार गरेको छ । यसअघि इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले दुवै देशलाई ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका थिए ।
उक्त प्रस्तावमा हर्मुजको जलघाँटी खोल्ने र ४५ दिन अस्थायी युद्धविराम गर्ने उल्लेख थियो । युद्धविरामले शत्रुहरूलाई द्वन्द्वको तयारी गर्न सघाउने इरानले बताएको छ । अमेरिकाले पनि यस प्रस्तावमा स्विकृति नदिएको ह्वाइटहाउसका एक अधिकारीले सीएनएनसँग बताएका छन् ।
‘हामी त्यस्तो युद्ध अन्त्यको माग गर्दैछौं । यसले यसलाई फर्कनबाट रोक्छ,’ इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईलाई उद्रृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले लेखेको छ । मध्यपूर्वका दुई अधिकारीहरूले एपी समाचार एजेन्सीलाई बताएअनुसार इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफ मार्फत यो प्रस्ताव पठाइएको थियो ।
यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमतिको बाटो अनिश्चित देखिएको छ । केही समयअघि इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टी सुनिश्चित भएपछि मात्रै युद्ध रोक्न सकिने बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ४८ घण्टाभित्र हर्मुज जलघाँटी पुनः नखोले ऊर्जा केन्द्र र पुलमा आक्रमण गरिने चेतावनी दिएका छन् । उनले मंगलबार राति ८ बजे (नेपाली समय बुधबार ५ः४५) बजेभित्र हर्मुजको जलघाँटी खोल्न इरानलाई सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत चेतावनी दिएका हुन् । यसलाई पनि इरानले अस्विकार गरेको छ ।

आइतबारदेखि सोमबारसम्म इरानका विभिन्न सहरमा भएका आक्रमणमा २५ जनाभन्दा बढीको मृत्यु भएको छ । तेहरान नजिकैको एस्लामसार क्षेत्रमा भएको हवाई आक्रमणमा मात्र कम्तीमा १५ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । तेहरानस्थित सरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा समेत आक्रमण भएको बताइएको छ, जसका कारण विश्वविद्यालयका अनलाइन सेवाहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् र विद्यार्थीहरू क्याम्पस छोड्न बाध्य भएका छन् ।
आइतबार राति तेहरानको बहरेस्तान काउन्टीस्थित आवासीय इलाकामा आक्रमण हुँदा १० वर्षमुनीका चार बालिका र दुई बालकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्रृत गर्दै इरानको सरकारी फार्स न्युज एजेन्सीले जनाएको छ ।
इरानी अर्धसैनिक रिभोलुसनरी गार्डका गुप्तचर प्रमुख मेजर जनरल माजिद खादेमी आक्रमणमा मारिएको इरानी सरकारी मिडियाले पुष्टि गरेको छ । इजरायलले पनि उक्त कारबाहीको पुष्टि गर्दै गार्डको शीर्ष नेतृत्वलाई क्रमशः निशाना बनाइएको जनाएको छ । यसअघि पनि गार्डका अन्य वरिष्ठ अधिकारीहरू मारिएका थिए । इजरायलले इरानका स्टिल र पेट्रोकेमिकल उद्योगमा समेत गम्भीर क्षति पुर्याएको दाबी गरेको छ ।
युद्ध क्षेत्र विस्तार हुँदै खाडी मुलुकसम्म पुगेको छ । संयुक्त अरब इमिरेट्सको फुजैराहमा इरानी ड्रोन आक्रमणले दूरसञ्चार भवनमा क्षति पुर्याएको छ । अबु धाबीमा मिसाइल अवरोधका क्रममा एक व्यक्ति घाइते भएका छन् । इजरायलतर्फ पनि लगातार क्षेप्यास्त्र प्रहार भइरहेको छ । हाइफा र मध्य इजरायलका विभिन्न सहरहरूमा प्रहार हुँदा आवासीय भवनहरूमा क्षति पुगेको छ । यसअघि हाइफामा भएको आक्रमणमा दुई जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन् ।
फेब्रुअरी २८ मा सुरु भएको यस द्वन्द्वले हजारौँको ज्यान लिइसकेको छ, अन्तर्राष्ट्रिय बजार अस्थिर बनाएको छ र प्रमुख ऊर्जा आपूर्ति मार्गहरू अवरुद्ध पारेको छ । विशेषगरी, हर्मुज जलघाँटी बन्द हुँदा विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ ।
ट्रम्पको धम्कीको अमेरिकामा विरोध
अमेरिकामा विपक्षी डेमोक्रेटिक पार्टीका सांसद्हरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको विरोध गरेका छन् ।
ट्रम्पले हर्मुज जलघाँटी नखोले इरानका ऊर्जा केन्द्र र पुलहरु सबै ध्वस्त गरिदिने चेतावनी सामाजिक सञ्जाल ट्रुथमार्फत दिएका थिए। उनले इरानलाई नर्क बनाइदिने बताएका थिए । यस अभिव्यक्तिको विरोध गर्दै डेमोक्रेटिक पार्टीका तल्लो सदनका सांसद् जिम म्याकगभर्नले अन्तर्राष्ट्रिय कानुनलाई अवमुल्यन गर्न नहुने बताए ।
‘जब अमेरिकाले अन्तर्राष्ट्रिय मानवीय कानूनलाई कमजोर बनाउँछ, हामी अरूलाई पनि त्यसै गर्न उक्साइरहेका हुन्छौं । यसले हामी सबैलाई असुरक्षित बनाउँछ,’ उनले सामाजिक सञ्जालमा लेखे । उनले ट्रम्पका धम्कीहरु अविचलित मानसिकताको खतरनाक उपज रहेको बताए । ‘यो मानसिक समस्या हो । राष्ट्रपतिले मद्दत लिनु पर्छ,’ उनले भने । माथिल्लो सदन सिनेटका सदस्यहरुले पनि यसको विरोध गरेका छन् ।
म्यासाचुसेट्सका सिनेटर एडवर्ड मार्कीले भने, ‘युद्ध अपराधको धम्की दिने ट्वीटले हर्मुजको जलघाँटी खोल्न सक्दैन ।’ उनले इरानसँग वार्ता गरेर युद्ध अन्त्य र महागी नियन्त्रण गर्न आग्रह गरे । कनेक्टिकटका सिनेटर क्रिस मर्फीले ट्रम्पको योजनाबद्ध कार्यहरूलाई स्पष्ट युद्ध अपराध रहेको बताए । उनले राष्ट्रपतिलाई यस्ता अमानवीय काममा लगाम लगाउन उनले रिपब्लिकन नेताहरूलाई आग्रह गरे ।

‘रिपब्लिकन नेताहरूले उनलाई रोक्न आवश्यक छ । पुल र ऊर्जा केन्द्र उडाएर र निर्दोष इरानीहरूलाई मारेर जलघाँटी फेरि खुल्ने छैन । यो स्पष्ट युद्ध अपराध हो,’ उनले भने ।
मिशिगनकी सिनेटर एलिसा स्लटकिनले भनिन्, ‘इरानमा अन्धाधुन्ध नागरिकहरूलाई मार्नु र पुल र ऊर्जा केन्द्रजस्ता नागरिक पूर्वाधारहरू नष्ट गर्नु गैरजिम्मेवारपूर्ण र गलत दुवै हो । विशेष गरी, जब राष्ट्रपतिले यो युद्ध इरानी जनतालाई सहयोग गर्नका लागि हो भन्दै थिए ।’
ट्रम्प कार्यकालमा विदेशमा रहेका अमेरिकीहरु असुरक्षित भइरहेको उनले बताइन् । हवाईका सिनेटर ब्रायन स्काट्जले अमेरिकी जनतालाई ट्रम्पको योजनाको विरोध गर्न आग्रह गरे । ‘नागरिक पूर्वाधारमा बम विस्फोट गर्नु युद्ध अपराध हो, र यसको विरुद्धमा बोल्ने समय अहिले नै हो,’ उनले सामाजिक सञ्जालमा लेखे ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
